
फोटो : लिलाराज झापालीको फेसबुक पोष्टबाट ।

सुरुङ्गा । कनकाई नगरपालिकाले आज आइतबार विशेष अनुगमन अभियान चलाउँदै सुरुङ्गास्थित विभिन्न किराना पसलहरूमा छापा मारेको छ। अनुगमनका क्रममा पसलहरूबाट ठूलो परिमाणमा भोला (सङ्गठित सुर्ती), चुरोट, खैनी लगायतका सुर्तिजन्य वस्तुहरू बरामद गरिएको नगरपालिकाले जनाएको छ।

उक्त सामग्रीहरू तत्काल कनकाई–४ स्थित कोटिहोम क्षेत्र एकान्त स्थलमा लगेर नगरपालिकाको निगरानीमा नष्ट गरिएको हो। जनस्वास्थ्य र सार्वजनिक सचेतनालाई प्राथमिकता दिँदै नगरपालिकाले यस्ता पदार्थहरूको बिक्री वितरणमाथि कडाइ गरेको हो।

यस अघि सुर्तिजन्य पदार्थ बिक्री गर्ने पसललाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको पालिकाले अब सार्वजनिक स्थलमा सेवन गर्ने व्यक्तिलाई समेत पाँच सय रुपैया सम्मको जरिवाना गरिने कनकाई नगरपालिका प्रमुख राजेन्द्र कुमार पोखरेलले जानकारी दिए। “नगर क्षेत्रलाई स्वस्थ र स्वच्छ बनाउने हाम्रो अभियान अन्तर्गत यस्तो कठोर कदम चालिएको हो,” उनले भने।


यस अघि पनि कनकाई नगरपालिकाले विद्यालय, अस्पताल क्षेत्र लगायतका सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ प्रयोगमा प्रतिबन्ध लगाउँदै विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो।

