Aamsanchar

हलेसी दर्शन गरेर फर्कने क्रममा गाडी दुर्घटनामा परेर मृत्यु हुने महिलाको पहिचान खुल्यो

Author Image
सोमवार, साउन १९, २०८२

विराटनगर – प्रशिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसी दर्शन गरेका तीर्थयात्री बोकेर फर्किदै गरेको गाडी दुर्घटनामा परेर एकजना महिलाको मृत्यु भएको छ । मृतकको पहिचान खुलिसकेको छ । दुर्घटनामा परेर सिरहाको नहरा गाउँपालिका–३ की अन्दाजी २५–३० वर्षीया ममतादेवी यादवको मृत्यु भएको कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्याउनसाथ यादवलाई चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा परेर गाडीमा यात्रा गरिरहेका अन्य १७ जना घाइते भएका थिए ।

घाइतेमध्ये एक जनाको मृत्यु भएको हो । घाइतेहरूमा सिराहाको नहरा–५ की ३९ वर्षीया रन्जिता यादव, ७० वर्षीया सुस्मवती यादव, ७० वर्षीय राज यादवलगायतको अवस्था गम्भीर रहेको डीएसपी श्रेष्ठले बताए । घाइतेमध्ये १० जनालाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको जानकारी उनले दिए ।

त्यसअघि घाइतेहरूलाई उपचारका लागि उदयपुरको घुर्मी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामान्य अवस्थाका अन्य ६ जना घाइतेहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनालगत्तै चालक सिराहा नगरपालिका–३ का २८ वर्षीय रामनाथ साह फरार भएको प्रहरीले जनाएको छ ।

फरार रहेका चालकको खोजी तीव्र पारेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । चालकसहित १८ जना सवार रहेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ दौत्या खोलानजिक दुर्घटनामा परेको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार हलेसीबाट सिराहातर्फ जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको थियो । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ गएको थियो । हलेसी मन्दिर दर्शनपछि रिजर्भका यात्रु बोकेर सिराहातर्फ फर्किदै गरेको गाडी आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । स्थानीयको सहयोगमा उद्धार गरेर प्रहरीले घाइतेहरूलाई उपचारका लागि घुर्मी सामुदायिक अस्पताल लगेको थियो । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर