Aamsanchar

जरायोको सिंहसहित पथरीशनिश्चरेबाट २ जना पक्राउ

Author Image
सोमवार, साउन १९, २०८२

विराटनगर- वन्यजन्तु जरायोको सिंहसहित मोरङको पथरीशनिश्चरेबाट २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पथरीको टोलीले आइतबार साँझ एउटा घरमा छापा हानेको थियो। पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राई रहेका छन्। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार विशेष सूचनाका आधारमा निरज गुरुङको घरमा छापा हान्दा ३ वटा जरायोको टाउकोसहितको सिङ फेला परेको थिए।

गुरुङको घरबाट ३ जोर (६ वटा) सिङ बरामद भएको जानकारी चिमरियाले दिए। गुरुङको घरमा इलाका प्रहरी कार्यालय पथरीका असई गुलजारी यादव नेतृत्वको टोलीले साँझ ५:५० बजेतिर छापा हानेको हो। यस विषयमा इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ।

पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सब डिभिजन वन कार्यालय पथरीको जिम्मा लगाएको छ। जरायोको सिङ कहाँबाट ल्याइएको थियो भनेर यकिन भइसकेको छैन। विस्तृत विवरण थप अनुसन्धानपछि पत्ता लाग्ने वन कार्यालयले जनाएको छ।

पक्राउ परेकाविरुद्ध मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने जानकारी सब डिभिजन वन कार्यालय पथरीका सहायक वन अधिकृत कृष्णकुमार चौहानले दिए। दुवै जनाविरुद्ध वन्यजन्तुको अवैध आखेटोपहार सम्बन्धी मुद्दा चलाउने तयारी रहेको उनको भनाइ छ।

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर