

दुबई, युएई । “संविधान प्रदत्त अधिकार कार्यान्वयन गर — विशेष, संरक्षित र स्वायत्त क्षेत्र लागू गर; मातृभाषालाई सरकारी कामकाजमा स्थान देऊ“ भन्ने मूल नाराका साथ युएईमा यस वर्ष पनि ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस–२०२५ भव्य रुपमा मनाइने भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ युएई (नेफिन युएई) तथा आवद्ध ११ वटै जातीय समाजको संयुक्त आयोजनामा आगामी अगस्ट १० का दिन दुबईस्थित ऋगिद ७ को सभाहलमा भव्य कार्यक्रम आयोजना हुने भएको हो। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी नेफिन युएईका अध्यक्ष विक्रम लिम्बुले दिएका छन्।

कार्यक्रममा सहभागी सबै जातीय समुदायले आ–आफ्नो मौलिक पहिचान झल्काउने झाँकी, भेषभूषा र सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने छन्। साथै परम्परागत परिकार र सामग्रीसहित स्टल समेत रहने जानकारी महासचिव ८८धनकृष्ण राई (डिके किराँती)८८ले दिएका छन्।


सो अवसरमा आ–आफ्नो समाजमा विशेष योगदान पु¥याउने एक जना पुरुष र एक जना महिलालाई सम्मान गरिनेछ। साथै मिस्टर एण्ड मिस इण्डिजिनियस प्रतियोगिता पनि कार्यक्रमको विशेष आकर्षण रहनेछ।
कार्यक्रमको क्रममा हालै सम्पन्न नेफिन युएईको १०औं महाधिवेशन (२०२५–२०२७ कार्यकाल) बाट निर्वाचित नयाँ नेतृत्वको औपचारिक घोषणा पनि गरिने आयोजकले जानकारी दिएको छ।
संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९९४ को डिसेम्बर २३ मा अगस्ट ९ लाई अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेपछि विश्वभर यो दिवस मनाइँदै आएको छ। तर, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सार्वजनिक बिदाको दिनलाई अनुकूल पारेर हरेक वर्ष कार्यक्रम गर्दै आएका छन्। यस वर्ष युएईमा १० अगस्ट को दिन कार्यक्रम तय गरिएको हो।
नेफिन युएईमा हालसम्म तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई, किरात राई यायोखा, किरात याक्थुङ चुम्लुङ, थारु कल्याणकारी सभा, नेवाः पुचः, शेर्पा किदुङ, प्रवासी भुजेल समाज, सुनुवार सेवा समाज, माझी समाज लगायतका संस्था आवद्ध छन्। यस वर्ष राजवंशी सेवा समाज युएई र आदिवासी युवा महासंघ युएई को पनि सहकार्य रहनेछ।
प्रत्येक वर्षझैं यसपटक पनि कार्यक्रमको प्रमुख मिडिया पार्टनरको रूपमा आदिवासी जनजाति पत्रकार महासंघ युएई रहनेछ।

