

इलाम । इलामको माङसेबुङ गाउँपालिका–१, गजुरमुखीमा अवस्थित श्री महेन्द्रोदय माध्यमिक विद्यालयको अक्षयकोषलाई थप सशक्त बनाउँदै भूतपूर्व विद्यार्थी डा. प्रेम फ्याकले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

डा. फ्याकले आफ्ना स्वर्गीय पिता टेकविर फ्याक लिम्बू र माता बुधमाया एक्तेन फ्याकको स्मृतिमा उक्त रकम प्रदान गरेका हुन्। विद्यालयले सञ्चालन गर्दै आएको अक्षयकोषमार्फत प्राप्त हुने व्याज रकमले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कार र शैक्षिक सामग्री वितरणका साथै शैक्षिक र खेलकुद गतिविधिमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक हरि बरालले जानकारी दिए।
उनले डा. फ्याकप्रति आभार व्यक्त गर्दै भने, “उहाँको योगदान भावी पुस्ताका विद्यार्थीहरूका लागि प्रेरणादायी हुनेछ। यस्ता सहयोगले विद्यालयको दीर्घकालीन समृद्धिमा टेवा पुग्छ।”

डा. फ्याकले भने, “विद्यालयको शैक्षिक प्रगतिमा सघाउ पुर्याउने उद्देश्यले यो सानो प्रयास गरेको हुँ।”
कक्षा ६ देखि १० सम्म महेन्द्रोदय माध्यमिक विद्यालयमै अध्ययन गरेका डा। फ्याक हाल अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन्।
सन् २०७४ सालमा स्थापना भएको अक्षयकोषमा हालसम्म विभिन्न दाताहरूबाट संकलित रकम तीन लाख ८० हजार रुपैयाँ नाघेको विद्यालय प्रशासनले जनाएको छ।

