बिर्तामोड । बिहानको ४ बजेर १० मिनेट । सबैकुरा शान्त थियो, तर एक आमा भने अत्यासिएको स्वरमा छोरीलाई समातेर दौडिइरहेकी थिइन् । अर्जुनधारा नगरपालिका–५ की दिपा गिरीकी नौ महिनाकी छोरी अनुश्री अचानक राति नै छटपटाउन थालिन् । सुतिरहेको अवस्थामा अचानक छारेले समात्यो ।
“पहिलो पटक लाग्यो छोरीलाई सधैँका लागि गुमाउने छु कि क्या हो,”–दिपाले आँखाभरि आँसु पार्दै भनिन् ।
स्थानीय क्लिनिकमा लगेपछि उनीहरूलाई तत्कालै आईसीयू भएको अस्पताल जान सल्लाह दिइयो । कुनै ढिलासुस्ती नगरी सिधै बिर्तामोड चिल्ड्रेन अस्पताल पु¥याइन् । त्यहीँबाट अनुश्रीको जीवन बचाउने यात्रा सुरु भयो—एक संघर्ष, एक आशा, र एक सफलताको कथा ।

जटिल रोग, गम्भीर अवस्था र विशेषज्ञको भरोसा
अनुश्रीलाई बिर्तामोड चिल्ड्रेन अस्पतालमा भर्ना गर्दा उनको अवस्था गम्भीर थियो । निरन्तर छारे आइरहेको थियो । बालरोग विशेषज्ञ डा. रुपक आर्चाय भन्छन्,
“उनी सुपर रेफ्रेक्ट्री स्टेटस एपिलेप्टिकस रोगको चपेटामा थिइन्, जुन विश्वमै दुर्लभ मानिन्छ । औषधिले काम नगर्ने, ज्यानै खतरामा पार्ने यस्तो रोग प्रत्येक १० लाखमध्ये ४२ जनालाई मात्र लाग्छ ।”
छोरीलाई भेन्टिलेटरमा राखेर तीनवटै डोजको औषधि परीक्षण गरियो । डाक्टरहरू चौबीसै घण्टा अलर्ट थिए, नर्सिङ स्टाफ एकछिन पनि टाढा भएनन् । यति गम्भीर अवस्थामा पनि अनुश्रीको मुहारमा सास चलिरहेको थियो—त्यही सास बचाउने होड थियो चिकित्सक र आमाबाबुको बीचमा ।

नानी मुस्कुराइन्, सारा अस्पताल हर्षले भरियो
चार दिनसम्मको कठिन संघर्षपछि अनुश्रीको छारे कम हुन थाल्यो । पाँचौं दिनमा भेन्टिलेटर हटाइयो । नानी फेरि हाँस्न थालिन्, खेल्न थालिन्, बुबाआमासँग गफ गर्न थालिन् ।
“हामीले सोमबार अनुश्रीलाई डिस्चार्ज ग¥यौं । उनी पूर्णरूपमा ठीक भइन् । त्यो क्षण, हाम्रा लागि शब्दभन्दा माथिको अनुभूति थियो,” डा. आर्चायले भावुक हुँदै भने ।

नर्सिङ इन्चार्ज गोमा सिटौला भन्छिन्,
“सफलताको पछाडि डाक्टर र नर्सको प्रयास त छँदै छ, तर आमाबाबुको विश्वास पनि त्यति नै महत्वपूर्ण थियो । हामी एउटै टीमजस्तै भएर लड्यौं र जित्यौं ।”
बिर्तामोड चिल्ड्रेन अस्पतालः विश्वास जित्दै अघि बढ्दै
अनुश्रीको उपचारले फेरि एक पटक प्रमाणित ग¥यो—पूर्वी नेपालमा बाल स्वास्थ्यको लागि बिर्तामोड चिल्ड्रेन अस्पताल विश्वासिलो गन्तव्य हो । अत्याधुनिक पेडियाट्रिक आइसीयू, अनुभवी डाक्टर–नर्स र २४ सै घण्टा सेवा दिने तयारीले यो अस्पताल झापा, मोरङ, इलाम, पाँचथर, सुनसरीसम्मका परिवारको पहिलो रोजाइ बन्दै गएको छ ।
हरेक दिन त्यहाँ थुप्रै आमाबाबु आफ्नो सन्तानको उपचारका लागि आशा बोकेर आइपुग्छन् । अस्पताल भने त्यो आशालाई सफलताको परिणतमा बदल्न अहोरात्र खटिएको छ ।
नौ महिनाकी अनुश्री अहिले ठिक छिन् । आमाको अनुहारमा चमक छ, चिकित्सकको मुहारमा सन्तोष । यो कुनै सामान्य उपचार होइन, यो एउटा जीवन फर्काउने कथा हो—जहाँ माया, मिहिनेत र मेडिकल साइन्सले मिलेर चमत्कार गरे ।

