Aamsanchar

धारपानीमा जारी श्रृंगारिक महाआरती : भोलीदेखि लोकभजन प्रतियोगिता सुरु

Author Image
बुधवार, साउन २१, २०८२

दाङ ।  दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम, धारापानीमा जारी शिवपुराण तथा श्रृंगारिक महाआरतीको अवसरमा भोली बिहीबारदेखि जिल्ला स्तरीय लोकभजन प्रतियोगिता सुरु हुने भएको छ।

मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यका अनुसार, लोप हुँदै गएको लोकभजनको संरक्षण, संवर्द्धन र धार्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा हालसम्म दाङ जिल्लाका विभिन्न स्थानबाट ५ वटा टिमले दर्ता गरिसकेका छन्। ती टिमहरूले प्रत्येक दिन दिउँसो १२ बजेदेखि पालैपालो प्रस्तुति दिने व्यवस्था मिलाइएको छ।

प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ :
प्रथम पुरस्कार – रु १५,०००
दोस्रो पुरस्कार – रु १०,०००
तेस्रो पुरस्कार – रु ५,०००

यसअघि साउन १ गतेदेखि सुरु भएको शिवपुराण तथा श्रृंगारिक महाआरती कार्यक्रममा भक्तजनको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको छ। विशेषगरी सोमबार र शनिबार आरतीमा दर्शनार्थीको भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा मूल संयोजक गणेश कुमार अधिकारीले जानकारी दिनुभयो।

महाआरती अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन :

दैनिक आरती संकल्प

नाटक तथा कथा प्रवचन

झाँकी प्रदर्शन

ब्राह्मण भोजन, प्रसादी, रुद्राभिषेक तथा वरपिपल जलाभिषेक संकलन

श्रावण ३० गते विशेष रूपमा सामूहिक करोड दीप प्रज्वलन कार्यक्रम पनि गरिने आयोजकले जनाए छ। धारापानी धार्मिक पर्यटनको दृष्टिले समेत महत्त्वपूर्ण स्थल हो, जहाँ यस्ता कार्यक्रमहरूले धार्मिक र सांस्कृतिक चेतना अभिवृद्धिमा थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।

Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर