Aamsanchar

जापान र दक्षिण कोरियामा अत्यधिक गर्मी, चीन, पाकिस्तान र भारतका केही भागमा मुसलधारे वर्षा

Author Image
बिहिवार, साउन २२, २०८२

काठमाडौं – जलवायु परिवर्तनका कारण एसियाली मुलुकको मौसमी सन्तुलन अझ तीव्र र अप्रत्यासित बनिरहेको विज्ञहरुले बताएका छन् । चीन, पाकिस्तान र भारतका केही भागमा मुसलधारे वर्षा भइरहेको छ । जापान र दक्षिण कोरियामा अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको बीबीसीले जनाएको छ ।

विश्व मौसम विज्ञान संगठनका अनुसार विश्वव्यापी तापक्रम औसतभन्दा लगभग दोब्बर छिटो न्यानो हुँदै छ । वार्षिक जलवायु जोखिम सूचकांक सर्वेक्षणअनुसार एसिया क्षेत्रले विगत तीन दशकदेखि बाढी, गर्मीको लहर र खडेरीको सामना गरिरहेको छ ।

जापानमा केही दिनयतचा निक्कै गर्मी बढेको छ । गुन्मा प्रान्तको इसेसाकी सहरमा ४१.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । सन् २०२५ मा जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो अनुभव गरिएको बताइएको छ ।

जुनको मध्यदेखि र जुलाईको अन्त्यसम्म ५६ जनाको गर्मीका कारण मृत्यु भएको अधिकारीहरुले बताएका छन् । गर्मीका कारण रेलमा क्षति पुग्नसक्ने आकंलन गर्दै रेल सेवा पनि बन्द गरिएको छ ।

दक्षिण कोरियामा पनि जुलाईमा तापक्रम वृद्धि हुँदा आपतकालीन सेवाहरूमा भीड लागेको बीबीसीले जनाएको छ । गर्मीसँग सम्बन्धित रोगका कारण अस्पतालमा बिरामीको चाप बढेको छ ।

भियतनामका केही भागमा पनि बढी गर्मीका कारण जनजीवन प्रभावित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा भने पछिल्ला केही सातायता सांघाईदेखि बेइजिङसम्म बाढीले ठूलो क्षति पुर्‍याइरहेको छ । चीनको दक्षिणी क्षेत्रमा भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । ग्वाङडोङ प्रान्तको राजधानी गुआङ्झाउमा सयौँ उडानहरू रद्द भएका छन् । लामखुट्टेबाट हुने चिकनगुनिया भाइरसको प्रकोपलाई अझ उच्च बनाउने खतरा बढेको छ ।

भारतको उत्तराखण्डमा अचानक आएको बाढीका कारण अझै पनि सयौँ बेपत्ता छन् । पहाडी क्षेत्र र घना बस्ती भएका क्षेत्रहरूमा भारी वर्षा भएको छ । क्षतिको पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

पाकिस्तानमा जुनदेखि वर्षासँग सम्बन्धित घटनाहरूमा एक सयभन्दा बढी बालबालिकासहित लगभग तीन सयभन्दा बढीको मृत्यु भएको छ । बाढीले सयौँ घर र भवनहरूमा क्षति पुर्‍याएको छ । बेलायती सहायता एजेन्सी सेभ द चिल्ड्रेनका अनुसार पञ्जाब प्रान्तका कम्तिमा एक चौथाई विद्यालयहरू आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बीबीसी

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर