Aamsanchar

नेपालको एक मात्र शिकार आरक्षण क्षेत्र ‘ढोरपाटन’ पर्यटकको प्रतीक्षामा

Author Image
मङ्गलवार, साउन २७, २०८२

बागलुङ । नेपालमा आधिकारिक रूपमा मान्यता पाएको एक मात्र शिकार आरक्षण क्षेत्र ‘ढोरपाटन’ पछिल्लो समय संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि चर्चामा आएको छ। सन् १९८७ मा स्थापना गरिएको यो आरक्षण क्षेत्र बागलुङ, म्याग्दी र रुकुम जिल्लाको सीमाक्षेत्रमा फैलिएको छ।

करीब १,३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन समुद्री सतहदेखि २,८५० मिटरदेखि ५,५०० मिटर उचाइमा अवस्थित छ। ‘ढोर’ र ‘पाटन’ दुवै शब्दको अर्थ घाँसे मैदान भन्ने भए पनि यहाँको भौगोलिक विविधताले यसलाई अनौठो बनाएको छ। उपत्यका, हरियो पाटन र उच्च हिमाली क्षेत्रको मिश्रणले पर्यटकलाई मोहित पार्ने गर्दछ।

ढोरपाटनमा हिमाली थार, गोरल, कालो भालु, हिमचितुवा, डाँफे लगायत दुर्लभ वन्यजन्तु पाइन्छन्। यहाँ ¥होडोडेन्ड्रोन, फिर्खो, बाँज र विभिन्न मूल्यवान् जडीबुटीको समेत प्रचुरता छ।विशेष अनुमति लिएर मात्र यहाँ शिकार गर्न पाउने प्रावधान छ। प्रायः शरद र वसन्त ऋतुमा विदेशी पर्यटक र अनुसन्धानकर्तालाई हिमाली थार र गोरलजस्ता जनावरको शिकारका लागि अनुमति दिइन्छ।

पर्यटकले यहाँ शिकारसँगै ट्रेकिङ, जडीबुटी अवलोकन र हिमाली दृश्यावलोकनको अनुभव लिन सक्छन्। पोखरादेखि बागलुङ हुँदै सडकमार्ग प्रयोग गरेर पुग्न सकिने यो आरक्षण क्षेत्रमा डोल्पो र रुकुमका स्थानीय एयरस्ट्रिपहरू पनि निकट छन्।

पर्यटन व्यवसायीका अनुसार ढोरपाटनलाई व्यवस्थित प्रचार–प्रसार र पूर्वाधार विकास भएमा यो क्षेत्र उच्च–आय आर्जन गर्ने पर्यटक गन्तव्य बन्ने सम्भावना अत्यधिक छ।

तस्विरहरू : टार्जन लिम्बु र नेपाल न्यूज बैंक

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर