Aamsanchar

युएईमा ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न

Author Image
मङ्गलवार, साउन २७, २०८२

युएई । “नेपालको संविधान प्रदत्त अधिकार– आदिवासीहरूको विशेष क्षेत्राधिकार, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, सरकारी कामकाजमा मातृभाषा लागू गर” भन्ने मूल नारासहित ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस २०२५ युएईमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ युएईको आयोजनामा भएको कार्यक्रममा नेपाली दूतावास यूएईका उपमहावाणिज्यदूत कृष्ण प्रसाद चापागाईं प्रमुख अतिथि रहेका थिए। उनले विदेशमा रहँदा नेपाली संस्कृति जोगाउन आदिवासी जनजातिहरूको योगदान प्रशंसनीय रहेको बताए।

कार्यक्रममा विभिन्न जातीय समाजहरूले मौलिक संस्कृति झल्किने झाँकी, परिकार र सामग्रीको प्रदर्शनी गरे। आफ्ना समाजलाई विशेष योगदान पुर्‍याउने एक महिला र एक पुरुषलाई सम्मान गरिएको थियो। साथै, हालै सम्पन्न १०औं महाधिवेशनबाट थारु कल्याणकारी सभा युएईका भागरथी कुमार भगतको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो।

यसै अवसरमा ‘मिस्टर एण्ड मिस इन्डिजिनियस २०२५’ प्रतियोगिता सम्पन्न भयो। मिस्टर इन्डिजिनियस उपाधि किसन लाल चौधरी (थारु कल्याणकारी सभा) र मिस इन्डिजिनियस उपाधि देवी माया सुनुवार (सुनुवार सेवा समाज) ले हात पारे।

कार्यक्रममा विभिन्न संघ–संस्था, पत्रकार महासंघ र युएईका नेपाली समाजका प्रतिनिधिहरूको उपस्थिति थियो। संयुक्त राष्ट्रसंघले ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा घोषित गरे पनि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सार्वजनिक बिदा अनुसार कार्यक्रम आयोजना गर्दै आएका छन्। यस वर्ष १० अगस्ट, आइतबारको दिन कार्यक्रम गरिएको हो।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर