Aamsanchar

चोरेर तेह्रथुम पुर्‍याउँदा बिग्रिएको मोटरसाइकल अर्कैले फेरि चोरेर मामाघरमा लुकाएको फेला, तीन जना पक्राउ

Author Image
मङ्गलवार, साउन २७, २०८२

फिदिम-पाँचथरको फिदिमदेखि १० दिन अघि चोरी भएको मोटरसाइकल तेह्रथुमबाट बरामद भएको छ । चोरीमा संलग्न भएको आरोपमा धनकुटाका एक र पाँचथरका दुई गरेर तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सुरुमा दुई युवकले पाँचथरबाट चोरेर तेह्रथुम पुर्‍याउँदा बिग्रिएको मोटरसाइकल अर्कैले चोरेर मामाघरमा लगेर लुकाएको खुलेको छ । अनुसन्धानका क्रममा प्रहरीले चोरीमा संलग्न धनकुटाका एक युवकसहित तेह्रथुमबाट मोटरसाइकल बरामद गरेको छ ।

फिदिम बजारका कमल घिमिरेको नाममा दर्ता रहेको प्र.१-०३-००१ प-०७११ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल डिभिजन वन कार्यालयको गेट अगाडि पार्किङमा राखिएको स्थानबाट साउन १६ गते राति हराएको थियो । पीडितले जाहेरी दिएसँगै खोजी कार्यमा जुटेको प्रहरीले निकै लामो कसरतपछि मोटरसाइकल फेला पारेको हो ।

 

अनुसन्धानका क्रममा प्रहरीले २२० सिसी क्षमताका ८८ वटा पल्सर मोटरसाइकललाई प्रत्यक्ष निगरानीमा राखेर अनुसन्धान गरेको थियो । सिसी टिभि फुटेजका आधारमा चोरीमा संलग्न शङ्कास्पद व्यक्तिको खोजी भइरहेका बेला वैवाहिक बलात्कार मुद्दामा फिदिम ४ का करण मगर पक्राउ परेपछि मोटरसाइकल चोरी मुद्दामा अनुसन्धान गर्न प्रमाण भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख(डिएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिनुभयो । प्रहरीले करण मगरपछि हिलिहाङ गाउँपालिका-७ का सन्दीप लावतीलाई पक्राउ गरेको थियो ।

उनीहरु दुवैले मोटरसाइकल चोरी गरी तमोर करिडोर हुँदै नाँवा खोलाको झोलुङ्गे पुल पार गरेर लैजाने क्रममा बिग्रिएपछि बाटोमै छोडेको बयान दिएका थिए । उनीहरुको बयान अनुसार घटनास्थलमा प्रहरी पुग्दा मोटरसाइकल भेटिएन । स्थानीय सूचनाका आधारमा पुनः प्रहरी परिचालन हुँदा धनकुटा चौबिसेका कुमार तामाङले उक्त बिग्रिएको मोटरसाइकल चोरी गरी तेह्रथुमस्थित आफ्नो मामाघरमा लुकाएको अवस्थामा भेटिएको हो ।

प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर मोटरसाइकलसहित फिदिम ल्याएको छ । डिएसपी बुढाथोकीका अनुसार घटनामा संलग्न सबैको पहिचान भइसकेकाले मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।

 

Views: 424

प्रतिक्रिया (०)

सम्बन्धित खबर