

झापा । कोशी प्रदेश का मन्त्री भुमी प्रसाद राजवंशीको पहलमा कोच राजवंशी संग्रहालय, कनकाई ९ घैलाडुब्बा निर्माणका लागि २५ लाख रुपैयाँको बजेट सरकारले विनियोजन गरेको छ। यस कदमप्रति कोच राजवंशी समुदाय र संग्रहालय समितिले गहिरो आभार प्रकट गरेका छन्। तर, संग्रहालयको पूर्ण निर्माण र सञ्चालनका लागि न्यूनतम १० करोड रुपैयाँको ठूलो बजेट आवश्यक पर्ने देखिएको छ, जसले समुदाय र सरोकारवालामा थप लगानीको आवश्यकता देखाएको छ।

संग्रहालयले दक्षिण एसियामा बसोबास गर्ने करिब २ करोड राजवंशीहरुको सांस्कृतिक, ऐतिहासिक र धार्मिक पहिचानको प्रतिनिधित्व गर्दै ठूलो महत्व राख्छ। यो संग्रहालय केवल एक भौतिक संरचना नभएर समुदायको पहिचान, संस्कृति संरक्षण र पुस्तौंपुस्ता हस्तान्तरणको महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ। तर, हालसम्म भने सभामुख देवराज घिमिरेको निर्वाचन क्षेत्रमा निर्माण भइरहेको यस संग्रहालयको लागि बजेट उपलब्ध नहुँदा संग्रहालयको पूर्णता र दीगो सञ्चालनमा चुनौती देखा परेको राजवंशी समाज विकास समिति केन्द्रीय अध्यक्ष अभय राजवंशीको भनाई छ ।

सभामुखले यस परियोजनामा विशेष ध्यान दिई आवश्यक बजेट व्यवस्थापनमा सहयोग पुर्याउने आशा गरिएको छ । कोच राजवंशी समुदायले सभामुखसँग संग्रहालयप्रति माया र लगानी गर्न आग्रह गरेका छन्, जसले परियोजनाको समुचित सम्पन्नता र दीगो व्यवस्थापनमा सहकार्य हुनेछ।


यसैगरी, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार र सम्बन्धित निजी क्षेत्रले पनि यस सांस्कृतिक महत्त्वका कार्यक्रम र संरचनामा लगानी गरी समुदायको पहिचान संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नु अत्यावश्यक छ। कोच राजवंशी संग्रहालयले समुदायलाई गर्व गर्ने ठाउँ प्रदान गर्नेछ, समग्र सामाजिक तथा सांस्कृतिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यसले कोशी प्रदेश को सांस्कृतिक धरोहर संरक्षण र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने छ। कोच राजवंशी संग्रहालय निर्माण र सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापनमा सबै सरोकारवालाको ध्यान र लगानीको आवश्यकता एकदमै जरुरी रहेको छ।

