Aamsanchar

नागढुङ्गा सुरुङमार्ग पार गर्न अब शुल्क तिर्नु पर्ने, मोटरसाइकल चल्न पाउने छैन

Author Image
बिहिवार, साउन २९, २०८२

काठमाडौँ । साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि नयाँ उपभोग दस्तुर तोकेको छ र मोटरसाइकललाई सुरुङमार्गमा चल्न नदिने निर्णय गरेको छ।

निर्धारित दस्तुरअनुसार कार/भ्यानको काठमाडौँ आउँदा ६५ र जाँदा ६० रुपैयाँ, मिनी बस/ट्रक आउँदा ११५ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रक आउँदा २६० र जाँदा २०० रुपैयाँ लाग्नेछ। यसबारे जानकारी सरकारका प्रवक्ता तथा सूचना–सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत दिएका हुन्।

यस्तै भारी उपकरणको काठमाडौँ आउँदा ६०० र जाँदा २५० दस्तुर तोकिएको उनले बताए । सुरुङमार्गबाट मोटरसाइकल भने चलाउन पाइँदैन ।

कुल २,६८८ मिटर लामो उक्त सुरुङ गत जुलाई २१ सम्म अधिकांश काम सकिएको आयोजनाले जनाएको छ।

यसअनुसार मुख्य सुरुङ, इभ्याकुएसन, वर्किङ अडिट, क्रस प्यासेज सबै पूरा भइसकेका छन् भने तीनवटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल र एउटा फ्लाईओभरको काम पनि सकिएको छ।

यस्तै मुख्य सुरुङको सीआरसीपी समपन्न हुादा इभ्याकुएसन टनेलको आरसीपी १०.९९ मिटर सम्पन्न हुन बाँकी छ। यसबाहेक पहुँच सडक, र्‍याम्प र अन्य सडकको १ हजार २ सय ३०.९८ मिटर काम बाँकी छ।

यो आयोजनाको समग्र प्रगति ९२.१८ प्रतिशत सकिँदा ७.८२ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ। जुन महिना सकिँदासम्म आयोजनाको वित्तीय प्रगति ८६.३४ प्रतिशत रहेको थियो।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर