
फायल फोटो ।

विराटनगर — कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा आज भव्य रथयात्रा निकालिँदै छ । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने यस ऐतिहासिक रथयात्रा विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने र यसलाई एशियाको जगन्नाथ पुरीपछि दोस्रो ठूलो रथयात्रा मानिन्छ ।

शनिबार नयाँ रथको विशेष पूजा सम्पन्न गरिएको थियो । रथ विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर यात्रा पूरा गरेर पुनः राधाकृष्ण मन्दिरमै समापन हुनेछ । यस वर्षको रथयात्रामा नेपाल र भारतबाट करिब पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।

कडा सुरक्षा रणनीति


मोरङ प्रहरीले रथयात्रालाई सुरक्षित बनाउन विशेष सुरक्षा योजना बनाएको छ । प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद चिमरियाले कुनै पनि अवाञ्छित गतिविधिलाई शून्य सहनशीलताका साथ नियन्त्रण गरिने चेतावनी दिएका छन् । उनका अनुसार ड्रोन र सीसीटीभीमार्फत निरन्तर निगरानी, भीडभित्र सादा पोसाकका प्रहरी परिचालन, सीमाक्षेत्रमा कडा चेकजाँच र आपराधिक गतिविधि रोकथामका लागि विशेष रणनीति अपनाइएको छ ।
रथयात्रा मार्गका विभिन्न स्थानमा ‘मोबाइल डिटेन्सन भेइकल’ तयारी अवस्थामा राखिएका छन् । शंकास्पद वा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयसम्म ल्याइनेछ ।
स्वास्थ्य सुविधा पनि तयारी
लाखौँको भीडमा आकस्मिक स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोरङ प्रहरीले प्रदेश प्रहरी अस्पताल र निजी स्वास्थ्य संस्थाहरूसँग सहकार्यमा रथयात्रा मार्गका विभिन्न स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ । स्वास्थ्यकर्मी टोली र आवश्यक औषधिसहितका यस्ता केन्द्रहरूले भक्तजनलाई प्राथमिक उपचार सेवा दिनेछन् ।
एसपी चिमरियाले भने, “यो केवल धार्मिक यात्रा मात्र नभई लाखौंको आस्था र विराटनगरको पहिचानसँग जोडिएको कार्यक्रम हो । यसको शान्ति र गरिमामा कुनै खलल हुन दिन्नेछैनौं ।”

