

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यो वर्षको दशैँतिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आइतवारको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन्। इन्धनको मूल्य अनुसार भाडा घटबढ गर्ने प्रावधान भए पनि चाडपर्वका बेला यात्रु थप मारमा नपरून् भन्ने उद्देश्यले यो वर्ष भाडा नबढाउने योजना रहेको उनको भनाइ छ।

उनले यात्रुको भीडभाड चाडवाडका वेला भाडा नबढाउन यातायात व्यवसायीलाई आग्रह गरेको पनि बताए। उनले यातायात व्यवसायीहरूसँग छलफलमार्फत सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको पनि बताए।

उनले प्रदेशस्तरमा रहेका सडक आयोजना प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको बताए।
मन्त्री दाहालले भने, ‘यो वर्षको दशैँ र तिहारमा भाडा बढाउने योजना छैन। हामीले यातायात व्यवसायीहरूसँग पनि भनेका छौं। मान्छेको भीडभाड हुने बेलामा भाडा बढाउने काम नगरौं।’
निर्माणाधीन सडकका सम्बन्धमा ज्यालादारी कामदारसहित प्रदेश सरकारलाई सडक आयोजनाको जिम्मा दिने तयारी भइरहेको मन्त्री दाहालको भनाइ छ।

