झापा । हल्दिबारी गाउँपालिका–३ मा सडक सरसफाइ तथा बृहत श्रमदान अभियान निरन्तर जारी छ।
वडा कार्यालयमा सम्पन्न सर्वपक्षीय भेलाबाट सार्वजनिक सडक क्षेत्रमा फैलिएका डाले घाँस, कोसेबाली र अव्यवस्थित बोट–विरुवाहरू हटाउने साझा निर्णयअनुसार अभियान अघि बढाइएको हो।

यसै क्रममा हुलाकी सडक खण्ड अन्तर्गत देउनिया–भुसुडीसम्म पहिलो दिनमा श्रमदान गरिएको थियो भने दोस्रो दिन आज भुसुडी देखि ढडुवा खण्डसम्म सफाइ अभियान सम्पन्न भएको छ।

वडा अध्यक्ष विष्णुप्रसाद ओलीका अनुसार, अभियानलाई अझ निरन्तरता दिँदै सडक क्षेत्रमा अव्यवस्थित रूपमा रहेका बोटबिरुवा हटाउन सम्पूर्ण वडावासीलाई सहयोग गर्न उनले आग्रह गरिएका छन। उनले “श्रमदानमा सहभागी हुने, सहयोग गर्ने र अभियानलाई सकारात्मक दृष्टिले हेरिने सबैलाई धन्यवाद” दिंदै, आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी बनाउन स्थानीय तह र संघ–संस्थाको सक्रियता महत्त्वपूर्ण रहने बताए।


घर–घरबाट प्राप्त उत्साहजनक सहभागिता र सहयोगका कारण अभियान थप प्रभावकारी बन्दै गएको वडा कार्यालयले जनाएको छ। भोलि तेस्रो चरणमा ढडुवा देखि काजली पुलसम्म सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ।

स्थानीय अभियन्ताहरूले यस अभियानलाई जनसहभागिताबाट अघि बढाइएको उदाहरणीय पहलका रूपमा लिएको बताउँदै, आफ्ना क्षेत्र आसपास सफा राख्दै जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सबैमा आग्रह गरेका छन्।

