Aamsanchar

“आम्दानी बढ्दा पनि नाफा खुम्चियो : विद्युत प्राधिकरणको मुनाफा ३७% ले घट्यो”

Author Image
आइतवार, भदौ १, २०८२

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपाल विद्युत प्राधिकरणले आम्दानी बढाउन सफल भए पनि खुद मुनाफा भने उल्लेखनीय रूपमा खुम्चिएको छ।

प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानी ८.४६ प्रतिशतले बढेको छ। तर, खुद नाफा भने ३७.३२ प्रतिशतले घटेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सञ्चालन खर्चमा भएको तीव्र वृद्धि र निजी क्षेत्रका उत्पादकहरूबाट खरिद गर्नुपर्ने विद्युतको बढ्दो लागतले नाफामा नकारात्मक असर पारेको बताए।

शाक्यका अनुसार हाल विद्युत उत्पादन र वितरण विस्तारका लागि भइरहेका पूर्वाधार निर्माण, आपूर्ति सुदृढीकरणलगायतका कार्यमा ठूलो लागत लागिरहेको छ। “उत्पादन र वितरण सुधारका लागि खर्च बढ्दै गएको छ। तर, निजी क्षेत्रबाट खरिद मूल्य उच्च भएकाले आम्दानी बढे पनि नाफा कम भएको छ,” शाक्यले भने।

नेपाल विद्युत प्राधिकरण पछिल्ला वर्षहरूमा नाफामै रहेर सरकारी स्वामित्वका संस्थानमध्ये सबल संस्था मानिँदै आएको भए पनि यस वर्षको नतिजाले आर्थिक व्यवस्थापनमा थप चुनौती देखिएको प्राधिकरणले जनाएको छ।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर