Aamsanchar

उपेन्द्र यादव भन्छन् : गौर नरसंहारमा मेराे संलग्नता छैन, दरबार हत्याकाण्ड कसले गरायो ?

Author Image
बुधवार, भदौ ४, २०८२

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड कसले गरायो ? भन्दै प्रश्न गरेका छन् । नेपालका कतिपय घटनाहरू रहस्यमय तरिकाले भएको उनको भनाइ छ । दरबार हत्या काण्ड, दासढुङ्गा काण्ड कसले गरायो ? भन्ने प्रश्न अझै अनुत्तरित रहेको उनको भनाइ छ । देशको राष्ट्रप्रमुख, दरबारको सुरक्षामाभित्र दरबार हत्या काण्ड कसरी भयो ? जनताले जान्न चाहेको उनले बताए ।

नेपालमा कसैले सोच्दै नसोचेको र चिताउँदै नचिताएका घटनाहरू हुने गरेको उनले बताए । अध्यक्ष यादवले अनुमानको आधारमा कसैले कसैमाथि आरोप लगाउन नहुने बताए । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाई छ ।

उनले सो घटनाको अनुसन्धान भइसकेको पनि दाबी गरे । एउटा होइन, चार/चार वटा संस्थाले अनुसन्धान गरेको उनले बताए । राष्ट्रसंघीय संस्थाहरूले समेत आएर अनुसन्धान गरेर प्रतिवेदन दिएको उनले जानकारी दिए ।

गौरमा माओवादीका छापामारले आक्रमण गर्दा आफ्ना पार्टीका मान्छेहरू त्यहाँ नरहेको उनको दाबी छ । त्यहाँ बिसौँ हजार गाउँका जनता मात्रै भएको उनले बताए । त्यसबेला माओवादीहरूप्रति जनता आक्रोशित भएकोले पनि उक्त घटना भएको हुनसक्ने अध्यक्ष यादवले बताए ।

माओवादीले अपहरण गर्ने, फिरौती माग्ने जस्ता कार्यहरू गर्ने गरेका कारण त्यसको रियाक्सनको रूपमा उक्त घटना भएको हुनसक्ने उनले बताए । अध्यक्ष यादवले उक्त घटनाको ओएचसिआर, मानवअधिकार आयोग र स्वयं न्यायिक अनुसन्धान भएको बताए ।

पाटनको पुनरावेदन अदालतका मुख्य न्यायाधीशको संयोजकत्वमा बनेको न्यायिक छानबिन आयोगले पनि छानबिन गरेर त्यो कुराको पुष्टि गरेको उनको दाबी छ । राजनीतिमा प्रतिसोध साँध्ने, कुनै मुद्दालाई दबाउने कुराको लागि प्रयोग गर्ने हो भने त्यो बेग्लै कुरा भएको उनले बताए ।

गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो ।

२०६३ को चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँ कार्यक्रम आयोजना गरेका थिए ।

 

 

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर