

बिर्तामोड । झापाको बिर्तामोड वान स्टप मलमा ग्लोबल रिच एजुकेशनको शाखा कार्यालय उद्घाटन भएको छ । बिहीबार बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले विधिवत् उद्घाटन गरेकी हुन् ।

विदेश मुख्य गरी अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्यान्ड, जर्मनीलगायतका देशमा रहेको ४१ वटा विश्व विद्यालयको आधिकारिक परामर्श केन्द्र रहेको ग्लोबल रिचका नेपाल प्रमुख नारायण बजाजको दाबी छ । उनका अनुसार विद्यार्थीले परामर्श सेवा लिन कुनै पनि शुल्क तिर्न नपर्ने र सेवा सँगै विदेशका विश्व विद्यालयमा अध्ययन गर्न ढुक्क भएर जान सकिनेछ ।

३३ वर्ष पुरानो इतिहास बोकेको ग्लोबल रिचका शाखा विश्वका ४० सहरमा छन् भने नेपालमा भने सन् २००७ देखि कार्यरत छ । नेपालमा हाल ६ स्थानमा शाखा रहेको जानकारी दिँदै बिर्तामोड शाखा प्रमुख तवसुन खड्काले यस क्षेत्रका विद्यार्थीलाई अझ सहज हुने बताए । उद्घाटनकै दिन आज दिउँसो ११ देखि ४ बजे सम्म परामर्श सेवा सञ्चालन गरिएको छ ।



बिर्तामोडमा करिब सय नजिक शैक्षिक परामर्श केन्द्र सञ्चालनमा छन् । धेरै विकल्पबीच कुन भरपर्दो संस्था छनोट गर्ने भन्ने अभिभावक र विद्यार्थीको अन्योललाई कम गर्न आधिकारिक परामर्श केन्द्र खुल्नु महत्त्वपूर्ण भएको अग्रशेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवालले बताए ।
उद्घाटन समारोहमा बोल्दै मेयर पवित्रा महतरा प्रसाईले परामर्श व्यवसायलाई पारदर्शी र उत्तरदायी बनाउन यस्तो आधिकारिक केन्द्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् । उनले भनिन्, “विद्यार्थी भविष्य निर्माणमा यस्ता केन्द्रले सही बाटो देखाउने अपेक्षा गरेका छौं । युवालाई ठगीमा पार्ने, अनावश्यक खर्च गराउने प्रवृत्तिहरूलाई यसले रोक्नेछ भन्ने विश्वास लिएको छु । बिर्तामोडमा खोलिएको शाखाले नगरकै मात्र नभई सम्पूर्ण झापा र आसपासका विद्यार्थीलाई लाभ पुग्नेछ ।”

