

झापा । हल्दिबारी गाउँपालिका–३ मा रहेको ढडुवा युवा क्लब परिवारले आयोजना गरेको तीज विशेष बृहत सांस्कृतिक कार्यक्रममा द भ्वाइस अफ किड्स सिजन–४ सेमिफाइनलिस्ट निर्देशिका आछामीलाई नगद, दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको छ।

कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष विष्णु प्रसाद ओलीले ढडुवा युवा क्लबको सामाजिक योगदान र युवा सक्रियतालाई खुलेर प्रशंसा गर्दै “यस्ता सांस्कृतिक कार्यक्रमहरूले समाजमा एकता र सकारात्मक ऊर्जा जगाउँछन्” भन्दै तीजको शुभकामना व्यक्त गरे।

वडा सदस्य अजित कुमार बिष्ट, कर्ण भण्डारी, विष्णुमाया तिम्सिना ढुङ्गेल, जलथल प्रहरी चौकीका प्रमुख, महिला दिदीबहिनी र विद्यार्थीको व्यापक उपस्थिति रहेको कार्यक्रममा २०० भन्दा बढी महिलाले गीत, नृत्यमा सहभागी जनाएका थिए ।


विशेष प्रस्तुति स्वरूप गायिका निर्देशिका आछामीले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दै सहभागीलाई मन्त्रमुग्ध पारिन्।

महिला लक्षित म्युजिकल चेयर प्रतियोगितामा प्रथम सीता बिष्ट, दोस्रो होमा बराल र तेस्रो शान्ता खत्रीले स्थान प्राप्त गर्दै नगद पुरस्कार जिते।
कार्यक्रम क्लब अध्यक्ष कुल बहादुर न्यौपानेको अध्यक्षता र सचिव अभिषेक खतिवडाको सञ्चालनमा सम्पन्न भएको हो। वडा सदस्य विष्णुमाया तिम्सिनाले महिला दिदीबहिनीलाई लक्षित गर्दै हरेक वर्ष यस किसिमको कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाइन्।

