

काठमाडौँ – निजी विद्यालय सञ्चालकहरूले सोमबार देशभर प्रदर्शन गर्ने भएका छन्। विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन घोषणा गरेका विद्यालय उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा घेराउको कार्यक्रम तय गरेका छन्।

बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रतिनिधिसभा घेर्न जाने तयारी रहेको प्याब्सनका केन्द्रीय सल्लाहकार डिके ढुंगानाले जानकारी दिए । यस्तै बिहान ११ बजे नै सातै प्रदेशका प्रदेशसभा भवन अगाडि धर्ना दिने कार्यक्रम रहेको उनले बताए।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधान सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालक दोस्रो चरणको आन्दोलनमा जान लागेका हुन्। प्याब्सन, एन प्याब्सन, हिसान, अपेन लगायतका संस्था आन्दोलनमा होमिएका छन्। निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउँदै लैजाने, पूर्ण छात्रवृत्ति लगायतका व्यवस्थाको विरोधमा उनीहरू आन्दोलित बनेका हुन्।



