झापा । मारवाडी युवा मञ्च बिर्तामोड र मारवाडी युवा मञ्च सिलिगुढीको संयुक्त आयोजनामा नेपालका पाँच सयभन्दा बढीलाई निःशुल्क कृतिम हात–खुट्टा वितरण गरिने भएको छ।

नेशनल मारवाडी फाउन्डेशनको सहयोगमा हुने उक्त कार्यक्रममा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई आगामी सेप्टेम्बर १४ मा सिलिगुढीमा विशेष कार्यक्रममार्फत कृतिम हात–खुट्टा वितरण गरिने मञ्चले जनाएको छ।

बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा पूर्व महासचिव प्रविण अग्रवालले विशेष कारणले हात–खुट्टा गुमाएका जो–कोहीलाई निःशुल्क सुविधा उपलब्ध गराइने जानकारी दिए। उनका अनुसार भदौ २९ गते बिर्तामोडस्थित अग्रसेन भवनबाट लाभार्थीलाई सिलिगुढी लैजाने र उपचारपछि पुनः त्यहीँसम्म ल्याउने व्यवस्था मिलाइएको छ।

कार्यक्रमका सहभागीको यातायात, खानेपानी र आवासको सम्पूर्ण व्यवस्था मारवाडी युवा मञ्च सिलिगुढीले गर्नेछ। दुई वर्षअघि पनि नेपालबाट एक सयभन्दा बढी अपाङ्गता भएका व्यक्तिले सो सेवा लिएका थिए। यस वर्ष कम्तीमा पाँच सय जनालाई सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।


पत्रकार सम्मेलनमा मारवाडी युवा मञ्च सिलिगुढीका अध्यक्ष प्रणय गोयल, पूर्व अध्यक्ष मनिष बजाज, कार्यकारिणी सदस्य मिन्टु बजाज, बिर्तामोड मञ्चका पूर्व अध्यक्ष टेकेन्द्र अग्रवाल, उपाध्यक्ष विशाल गोयललगायतको उपस्थिति थियो।
कृतिम हात–खुट्टा आवश्यक परेका व्यक्तिले मारवाडी युवा मञ्च बिर्तामोडमा सम्पर्क गर्न सक्नेछन्। सम्पर्कका लागि पूर्व महासचिव प्रविण अग्रवाल (९८०१४००००५) वा यज्ञराज अग्रवाल (९८०४९४९४४९) सँग सम्पर्क राख्न सकिने जानकारी दिइएको छ।

