

मधुप्रसाद अर्याल
बुटवल–१७ का स्थायी बासिन्दा अर्याल शिक्षाविद् र समाजसेवीको रूपमा चिनिन्छन् । अटिजम र भाषिक समानताको क्षेत्रमा डेढ दशकभन्दा बढी काम गरेका उनले त्रिभुवन विश्वविद्यालयमा पीएचडी गर्दै अन्तर्राष्ट्रिय अनुसन्धान फेलोको सम्मान पाएका छन् । हाल उनी रुपन्देही–३ का क्षेत्रीय सभापति र रास्वपाका प्रारम्भिक उम्मेदवार हुन् । उनको लक्ष्य शिक्षित, समावेशी र आत्मनिर्भर रुपन्देही निर्माण गर्ने हो ।




सुलभ खरेल
अधिवक्ता खरेल कानुनी अभियन्ता र नागरिक अधिकारकर्मी हुन् । बुटवल–१६ का खरेल सर्वोच्च अदालतमा संवैधानिक र सार्वजनिक सरोकारका मुद्दामा सक्रिय छन् । प्रतिनिधिसभा विघटन प्रकरणमा वकालत गरेर उनी चर्चामा आए । अमेरिकाको मिसिगन विश्वविद्यालयबाट एलएलएम गरेका उनले अन्तर्राष्ट्रिय कानुनी प्रणालीमा पनि अनुभव बटुलेका छन् । जनसेवा श्रीबाट विभूषित खरेल पार्टीका सम्भावित उम्मेदवारका रूपमा देखिएका छन् ।


जितबहादुर गुप्ता
शिक्षक, लेखक र युवा अध्येता गुप्ता २०७९ को आमनिर्वाचनमा पनि रुपन्देही–३ बाट रास्वपाका उम्मेदवार बनेका थिए । उनले अर्थशास्त्रमा स्नातकोत्तर गर्दै कूटनीतिक अर्थशास्त्रमा अनुसन्धान थालेका छन् । करिब १५ वर्षदेखि शिक्षण पेशामा रहेर काठमाडौं, बुटवल र भैरहवामा अध्यापन गर्दै आएका गुप्ताले ‘दी डाइमन्ड, स्टोरी क्यान चेन्ज लाइफ’ पुस्तकमार्फत बालबालिकालाई प्रेरित गर्ने काम गरेका छन् ।

डा. लेखजंग थापा
सिद्धार्थनगर–९ अञ्चलपुरका वरिष्ठ न्युरोलोजिस्ट डा. थापा चिकित्सा क्षेत्रमा परिचित नाम हुन् । १६ वर्षदेखि न्युरो–साइन्समा सेवा गर्दै आएका उनले हार्वर्ड विश्वविद्यालयबाट नेतृत्वसम्बन्धी विशेष अध्ययन पनि गरेका छन् । उनका ८० भन्दा बढी अनुसन्धानात्मक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित छन् । नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका थापाले स्ट्रोक उपचार र सचेतनाका अभियानलाई संस्थागत बनाएका छन् । हप्तामा दुई दिन भैरहवा पुगेर बिरामीलाई सेवा दिने उनी राजनीतिको बाटो समात्दै सुशासन र समृद्धिको एजेन्डा अघि सारिरहेका छन् ।

पुनमकुमारी अग्रवाल
सिद्धार्थनगर–८ की अग्रवाल उद्योगी, उद्यमी र समाजसेविकाका रूपमा परिचित छिन् । गरीब, विपन्न र असहायका लागि निरन्तर सहयोग गर्दै आएकी उनले मेडिकल माइक्रोबायोलोजीमा स्नातकोत्तर गरेकी छिन् र अध्यापन अनुभव पनि छ । “मान्छे र माटो जोगाउने उद्यमी” भनेर चिनिने अग्रवाल युवा पुस्तामा उद्यमशीलताको उदाहरण बनेकी छिन् ।

रचना क्षेत्री
पोखरामा जन्मिएकी क्षेत्री विवाहपछि सिद्धार्थनगर–३ बस्दै आएकी हुन् । प्रारम्भिक बालविकास र समाजसेवामा सक्रिय उनी उद्योग वाणिज्य संघको निर्वाचित कार्यसमिति सदस्यसमेत हुन् । २०७९ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘समाज सेवा रत्न’ पदक पाएकी क्षेत्री हाल रास्वपा रुपन्देही जिल्ला कोषाध्यक्ष छिन् । बालबालिकाको अधिकार र अटिजम अध्ययनमा उनको विशेष चासो छ ।
कुसुम महर्जन
भक्तपुरमा बस्दै आएकी तर सिद्धार्थनगर मूल घर भएकी महर्जन लामो समयदेखि शिक्षा, महिला, बालबालिका र समाजसेवामा सक्रिय छिन् । ५० भन्दा बढी जिल्लामा सामाजिक कार्यको अनुभव बटुलेकी उनी रास्वपाकी संस्थापक सदस्य हुन् । २०७९ मा समानुपातिक सूचीमा रहेकी उनले रुपन्देही–३ बाट उम्मेदवार बन्ने लक्ष्यसहित राजीनामा दिएकी थिइन् ।
पार्थिवेन्द्र उपाध्याय
सिद्धार्थनगर–७ निवासी उपाध्याय शिक्षक र सामाजिक अभियन्ता हुन् । रुपन्देही क्याम्पस प्रमुखका रूपमा संस्थालाई पुनर्जीवित गर्न भूमिका खेलेका उनले नर्वेबाट अंग्रेजी भाषाशास्त्रमा स्नातकोत्तर गरेका छन् । राजनीतिशास्त्र र कानुनमा पनि अध्ययन गरेका उपाध्याय शिक्षा र सामाजिक अभियानलाई राजनीतिसँग जोड्न चाहन्छन् ।
ज्ञानु पौड्याल
तीन दशकभन्दा बढी समयदेखि समाजसेवामा सक्रिय पौड्याल सिद्धार्थनगर–८ निवासी हुन् । महिला तथा बालबालिकाको अधिकार, सहकारीको विकास र भ्रष्टाचारविरोधी अभियानमा सक्रिय उनी जनउत्थान सहकारीकी अध्यक्षका रूपमा ३९ हजारभन्दा बढी सदस्यलाई आर्थिक सशक्तीकरणमा संलग्न गराएकी छिन् । सुप्रबल जनसेवा श्रीसहित दर्जनौँ पुरस्कारले सम्मानित पौड्यालले नेपाल मात्र नभई अमेरिका, जापान, स्वीट्जरल्याण्डलगायत देशमा समेत प्रतिनिधित्व गरेकी छिन् । दक्षिण एसियाको लैङ्गिक समानता पुरस्कारसमेत पाएकी उनी अब राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने तयारीमा छिन् ।

