उमा सुबेदीको तोदा पृथक् विषयमा लेखिएको गत्तिलो आख्यान रहेछ । उपन्यासको आख्यान यथार्थकै परिधिमा उनिएपनि पृथक् विषय र शिल्पका संयोजनबाटल उपन्यासको उचाइ मेरो सोचाइभन्दा धेरै माथि रहेको अनुभूति भयो ।

पाँचसात वर्षदेखि पढ्छु भन्दै थन्क्याएको पुस्तक निकालेँ बिचको पाना पल्टाउँदा बिरिङ खोला , भोटेटार बुधबारेको प्रसङ्ग देखेँ । यो परिवेशमा आफैँ उभिएको हुँदा उपन्यास पढिहाल्ने उत्सुकता बढ्यो ।
तोदा उपन्यासमा इजरायल गएर केयर गिभरको काम गर्ने नेपालीहरूको सङ्घर्ष र नेपालमा माओवादी द्वन्द्वको अभिघात छ भन्ने सुनेको थिएँ । आफ्नै परिवेशले तानेपछि पढ्न सुरु गरेँ । अत्यन्त ब्यस्त भएपनि दुई दिन र चारपाँच बसाइमा उपन्यास छिचोलेँ

प्रारम्भिक पढाइमा यो नेपाली जाति किन यति दुखी भएको होला ? भन्ने लागेको थियो। पुरुषको विदेश पीडा मात्र साहित्य र सञ्चारमा आएको थियो । यस उपन्यासले विदेशिएका नेपाली चेलीका पीडाका अग्ला चुलीहरूमा पुर्याइदियो । कृति पढ्दै जाँदा जर्मनीबाट भागेर इजरायलमा बसेका युद्ध पीडित यहुदीहरूको कहानी पनि त्यत्तिकै मार्मिक लाग्यो। उपन्यासले गहिरो अभिघात ,संवेदना र यथार्थतालाई प्रस्तुत गरेको देखिन्छ ।
उपन्यास एक तिहाइ पढेर प्रतिक्रिया लेखेँ । टिप्पणीबाट यसको उचाइका बारेमा अवगत भयो । सर्जक माधव सयपत्रीले ७० को दशककै सबै भन्दा उत्कृष्ट उपन्यास मानेको प्रतिक्रिया दिनुभयो। मैले त्यति धेरै कृति अध्ययन गरेको छैन । तथापि यो उपन्यासको यथार्थता र कारुणिकता र युद्धको घनीभूत चोट चाहिँ साँच्चै उम्दा लाग्यो । उपन्यासकारसँगको संवादले उपन्यासप्रति आत्मीयता बढ्यो ।
तोदा अत्यन्त कारुणिक उपन्यास रहेेछ । यसमा दुई खालको पीडालाई कलात्मक बनाएर आख्यानीकरण गरिएको छ । नेपाली नारी जीवनको दर्द एवम् रोजगारीका लागि इजरायल गएका नेपाली नारीहरूको पीडाको वृत्त यसको एक पाटो हो । आधारभूत आवश्यकता र केही सम्पन्न बन्ने अभिललाषाले विदेशिएका नारीहरूको कथा संयोजनमा अद्वितीय कुशलता छ । धेरै पात्रहरूको अवस्था र विवशतालाई उनेर गहकिलो कृति तयार पार्न उपन्यासकार सफल छिन्। सबै पात्र जीवन्त छन् पीडाको विषय फरक भएपनि संवेदना उस्तै छ । जीवनको यथार्थता र कलाको मिठासलाई संयोजन गरेर कृतिलाई अब्बल बनाइएको छ । कथोपकथनको विन्यास जीवनजस्तै लाग्छ चोटिलो संवादले उपन्यासको स्तरलाई उन्नत बनाएको छ।

उपन्यासको अर्को पाटो दोस्रो विश्वयुद्धमा हिटलरको बर्बरिक र नृशंसता र सनकले सृजना गरेको क्रुरतम अभिघात हो । नाजीको नस्लवादले सृजना गरेको पाशविक नरसंहारका भुक्तभोगीहरूको मनोदशा साँच्चै गजबले उपन्यासमा पढ्न पाइन्छ । अभिव्यक्तिको कुशलताले पाठक आफैँ जर्मनीबाट भागेर आउँदै छु भन्ने लागयो । युद्ध पीडित यहुदीहरूको वर्तमानमा सम्पन्नता छ । भौतिक ऐश्वर्य र वैभव पनि छ तर अतीतका घाउको उकुच पल्टिएका पात्रहरू विक्षिप्त छन् । परिवारको सहानभूति भएपनि विदेशी सहयोगीहरूमा आश्रित हुनुको वेदना पनि छ । तिनको संवेदनालाई टिप्न केही स्थानमा हिब्रू भाषाको संवाद छ । सबै पात्रको पीडा पढ्दै गर्दा संवेदनाको सघनताले चिमोटिरह्यो । प्रत्येक घटनामा साधारणीकरण भएर उपन्यास बिसाउनै मन लागेन ।
उपन्यास पढिसकेर पुन: प्रतिक्रिया लेख्न मन लाग्यो ।
पार्वतीको जीवनको उहापोहमा उनिएका कथाहरूले हलचल बनाइरहेको छ । देशमा पर्याप्त अवसर नहुँदा विदेशिनु बाध्यता हो । विवाहित नारीको मनोभावना, अतृप्ति पारिवारिक जिम्मेवारीको अन्तर्द्वन्द्व एवम् पारिवारि विघटन सम्मका कथाहरू नेपाली समाजले भोगिरहेका कटु यथार्थ हुन् ।जसको सम्यक् अनुशीलनले तोदा उपन्यास समाजको सम्पदा बनेको छ । धोकेबाज प्रेमीहरू , नियतिको क्रुरता , दायित्व लिने विपन्न नेपाली नारीको सङ्घर्ष , माओवादी द्वन्द्वले सृजना गरेको गहिरो पीडा आदि सन्दर्भहरूले मन हलचल गराउँछ ।उपन्यास पठनीय र सङ्ग्रहणीय छ ।


विषयवस्तु , घटना संयोजन , आख्यानीकरणको मौलिकता , मर्मिक संवाद , नारी जीवनको पीडा ,
भावनाको उद्वेग आदिले उपन्यालाई सारै राम्रो बनाएको छ । नाजी क्रुरता र वैदेशिक रोजगारमा गएका नेपाली नारीको मुटुका आघात बुझ्न यो उपन्यास पढ्नैपर्छ । विदेश जान चाहने र प्रेम सम्बन्धकाो असर र परिणामको व्याकरण बुझ्न उत्सुक नेपाली चेलीहरूका लागि उपन्यास गहकिलो सन्दर्भ सामग्री समेत हो ।
यति गहकिलो उपन्यास रचना गर्ने मेरै गाउँठाउँकी शब्दशिल्पी उमा सुबेदीप्रति सम्मान जागृत भएको छ । धेरै वर्षपछि भएपनि मिठो र गहकिलो सिर्जनाका लागि सर्जकलाई बधाई छ । नाजी नरसंहार भोगिरहेका मानिसहरूको चोट बुझ्ने दस्ताबेजका रुपमा यस उपन्यासको विशेष महत्व छ । भोलि नेपाल सम्पन्न भयो भनेपनि तोदाले एउटा युगमा नेपाली नारीहरूले भोगेको विशेष परिच्छेद र परिवारको सुखसयलका लागि गरेको सङ्घर्ष लाई देखाउने छ ।तसर्थ यसलाई
कालजयी रचना मान्नु उपयुक्त हुन्छ ।
र, अन्त्यमा साहित्यप्रति उत्सुकता हुने पाठकले फुर्सदमा उपन्यास पढ्नु होला । अवश्य मन पराउनु हुने छ । अझ इजरायल देखेभोगेका दिदीबहिनीका लागि उपन्यासमा आफ्नै कथाब्यथा भेटिन सक्छ ।
लक्ष्मीप्रसाद रिजाल
बुद्धशान्ति – २ झापा

