
काठमाडौं – नेपालले पहिलो अभ्यास टी–२० खेलमा मंगलबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई ४१ रनले हराएको छ।

नेपालले प्रस्तुत गरेको १७८ रनको लक्ष्य पछ्याएको एसिटी १७।२ ओभरमा १३६ रनमा समेटियो।एसिटीका लागि जेक स्मिथले ३३ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ५० रन बनाए । यसैगरी काइ ब्रुनकरले अविजित २७, ज्याक केओघले २५ र स्कट मुर्नले ११ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले चार ओभरमा ३७ रन खर्चिएर ह्याट्रिकसहित सर्वाधिक पाँच विकेट लिए। यसैगरी करण केसीले दुई तथा गुल्शनकुमार झा, कुशल भुर्तेल र रुपेशकुमार सिंहले समान एक विकेट लिए।


त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि ओपनर आसिफ शेखले ३८ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ६९ रनको योगदान गरे। यसैगरी कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ र दीपन्द्रसिंह ऐरीले २१ रन बनाए।
एसिटीका लागि लुइस इभन्स, देव दुबे, इसाम रहमान र काइ ब्रुनकरले समान दुई विकेट लिए।

