मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–८ ले सुरु गरेको ‘शिक्षासँगै सिप कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।

अघिल्लो आर्थिक वर्षदेखि सुरु गरिएको सो कार्यक्रमले वडाका तीन विद्यालयमा विद्यार्थीलाई औपचारिक ज्ञानसँगै व्यावहारिक सीप सिकाउँदै आएको छ । बुद्ध माध्यमिक विद्यालय, मिलन आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयमा यो कार्यक्रम सुरु गरिएपछि विद्यार्थीको आकर्षण समेत बढेको छ ।

आधारभूत विद्यालयहरूमा नृत्य र गायनलाई अतिरिक्त विषयका रूपमा पढाइ सुरू गरिएको छ भने बुद्ध माविमा पशुपालन, इलेक्ट्रिसिटी, प्लम्बिङ र फेसन डिजाइनका कक्षा सञ्चालन गरिएको छ ।

वडा अध्यक्ष नविन जंग कार्कीका अनुसार वार्षिक योजना बनाएरै कार्यक्रम थालिएको हो । “सैद्धान्तिक शिक्षासँगै व्यावहारिक शिक्षा आवश्यक छ भन्ने सोचले यो कार्यक्रम सुरु गरिएको हो । विद्यार्थीले सामान्य घरायसी समस्या समाधान गर्न प्राविधिक बोलाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,” कार्कीले बताए ।


उनका अनुसार विद्यालय जीवन सकेर बाहिरिँदा विद्यार्थी दक्ष प्राविधिकका रूपमा अघि बढ्न सकून् भन्ने हेतुले नगरपालिकाले समेत कार्यक्रमलाई सहयोग पुर्याएको छ ।
बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देलका शब्दमा, “यो कार्यक्रमले किताबकै ज्ञान दिनेमात्र होइन, व्यावहारिक सीप पनि विकास गराइरहेको छ । विद्यार्थीले विद्यालयमै सिकेका सीप प्रयोग गरेर घरमै देखिने सामान्य प्राविधिक समस्या समाधान गर्न थालेका छन् ।”
कार्यक्रममा सहभागी विद्यार्थी पर्वत चौधरी अहिले इलेक्ट्रिसिटी विषयमा तालिम लिइरहेका छन् । “सामान्य विद्युतीय समस्या आफैं समाधान गर्न थालेको छु,” चौधरीले भने । त्यस्तै, पशुपालन तालिममा सहभागी सुप्रिम विकले पशुपालनसँगै सामान्य रोगको उपचारसम्बन्धी अध्ययन पनि भएकाले कृषिक्षेत्रमै योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सुरुवातदेखि नै प्रशंसा कमाएको ‘शिक्षासँगै सिप कार्यक्रम’लाई नगरभरिका विद्यालयमा विस्तार गर्न सकिए विद्यार्थी मात्र होइन, अभिभावकसमेत लाभान्वित हुने निश्चित छ ।

