

काठमाडौं – पूर्वराष्ट्रपति विद्या भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद मनिष झाबीच भेटवार्ता भएको छ। मंगलबार बिहान भण्डारीकै निवास भंगालमा करिब डेढ घण्टा भेटवार्ता भएको झाले जानकारी दिए।

प्रवक्ता झाले भेटवार्ता तथा छलफल कुनै विशेष एजेन्डामा नभई शिष्टाचार भेटघाट मात्रै भएको बताए। ´एउटा राजनीतिक शिष्टाचार भेटघाट थियो, कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट भयो`, उनले भने, ´वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा उहाँको सरोकार र यसको समाधानको आवश्यक पहलबारे छलफल भयो।`

झाका अनुसार भेटमा एमाले पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारीले सहकारीको विषयलाई अनावश्यक मुद्दा बनाइएको बताइन्। उनले रास्वपा सभापति रवि लामिछानेप्रति सद्भाव पनि व्यक्त गरेकी थिइन्। नयाँ पुस्तालाई राजनीतिमा सघाउन आफू तयार रहेको पनि भण्डारीको भनाइ थियो।

´सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति उहाँले सरोकार राख्नुभयो र रवि प्रति सद्भाव छ भन्नुभयोु, झाले भने, ´नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो हो र त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेको नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार रहेको भन्नुभयो। यसरी नै भेटघाट र संवाद जारी रहोस् भन्ने आशय पनि व्यक्त गर्नुभयो।`

