Aamsanchar

सानो डल्लो, फाइदा ठूलो : अकबरे खुर्सानी स्वास्थ्यको लागि अमृत

Author Image
मङ्गलवार, भदौ १०, २०८२

बिर्तामोड । नेपाली भान्सामा ‘पिरोको राजा’ भनेर चिनिने अकबरे वा डल्ले खुर्सानी स्वाद मात्र होइन, स्वास्थ्यका लागि पनि लाभदायी हुने वैज्ञानिक प्रमाण फेला परेको छ।

विशेषगरी पूर्वी पहाडी क्षेत्रमा प्रचुर मात्रामा पाइने अकबरे खुर्सानीमा रहेको ‘क्याप्सिसिन’ नामक तत्वले यसलाई औषधीय गुणयुक्त बनाएको अनुसन्धानहरूले देखाएका छन्। यसको सेवनले दुखाइ कम गर्ने, तौल व्यवस्थापनमा सहयोग पु¥याउने, मुटु स्वास्थ्यलाई सुदृढ गर्ने, पाचन प्रणालीलाई सबल बनाउने र शरीरलाई आवश्यक भिटामिन–खनिज पूर्ति गर्ने जस्ता फाइदा हुने विज्ञहरू बताउँछन्।

त्रिभुवन विश्वविद्यालयका आयुर्वेद चिकित्सक डा. नवराज भण्डारी भन्छन्, “सन्तुलित मात्रामा अकबरे खुर्सानी सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसमा पाइने क्याप्सिसिनले दुखाइ कम गर्ने र रक्तसञ्चार सुधार गर्ने काम गर्छ। तर, ग्यास्ट्रिक वा अल्सरका बिरामीले चिकित्सकको सल्लाहबिना धेरै मात्रामा सेवन गर्नु हुँदैन।”

अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थान (NIH) का अनुसार पनि क्याप्सिसिनयुक्त मलम वा क्रिमहरूले ओस्टियोआर्थराइटिस, न्युरोप्याथिक पेन (नसा सम्बन्धी दुखाइ) र मांसपेशी दुखाइमा राहत दिने प्रमाण भेटिएको छ। त्यस्तै, क्रिटिकल रिभ्युज इन फुड साइन्स एन्ड न्युट्रिसन जर्नलमा प्रकाशित समीक्षा लेखमा यसलाई पाचन प्रणालीका लागि सुरक्षात्मक मानिएको छ।

अकबरे खुर्सानी भिटामिन ‘सी’ र ‘ए’ को उत्कृष्ट स्रोत मानिन्छ। भिटामिन ‘सी’ ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भने भिटामिन ‘ए’ दृष्टि स्वास्थ्यका लागि आवश्यक हुन्छ।

विशेषज्ञहरूका अनुसार अकबरेलाई अचार, सस वा ताजा रूपमा खानामा समावेश गर्न सकिन्छ। तर, अत्यधिक पिरो सेवनले पेटमा जलन वा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले सावधानीपूर्वक प्रयोग गर्न सुझाव दिइएको छ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर