सिड्नी, (अष्ट्रेलिया) । नेपाली हिन्दू सोसाइटी अष्ट्रेलियाले आयोजना गरेको भव्य तीज महोत्सव मङ्गलबार सिड्नीस्थित बरूड पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । अष्ट्रेलियाली बहुसांस्कृतिक समाजभित्र नेपाली संस्कृतिको महत्वलाई औपचारिक रूपमा प्रस्तुत गर्ने यो महोत्सवमा सरकारी प्रतिनिधिसहित हजारौं सहभागीजनको उत्साहपूर्ण उपस्थिति रह्यो ।

कार्यक्रमका प्रमुख अतिथि न्यु साउथ वेल्सका मुख्यमन्त्री क्रिस मिन्सले नेपाली समुदायलाई तीजको शुभकामना दिँदै अष्ट्रेलियाली समाजमा नेपाली संस्कृतिले पु¥याएको योगदानलाई खुलेर प्रशंसा गरे । उनले भने, “नेपालीहरूप्रति यहाँको समाजले गर्व गर्छ, बहुसांस्कृतिक अष्ट्रेलियामा नेपाली संस्कृतिको स्थान विशेष छ ।”

बरूड काउन्सिलका मेयर जोन फेकर, स्ट्राथफिल्डका सांसद जेसन यात–सेन ली, वाणिज्यदूत सन्जीव कुमार शर्मा, काउन्सिलर सुकृति भट्ट, बरूड एरिया पुलिस कमान्डकी कमाण्डर क्रिस्टिन म्याकडोनाल्ड, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, क्षेत्रीय संयोजक दिनेश पोखरेल, नारिनिकुञ्जकी राष्ट्रिय संयोजक संगिता चापागाईंलगायत विशेष अतिथिहरूको उपस्थिति उल्लेखनीय रह्यो ।

कमाण्डर म्याकडोनाल्डले घरेलु हिंसाविरुद्ध नेपाली समुदायको सक्रिय भूमिकाको प्रशंसा गर्दै आफ्नै टोलीका दुई जना नेपाली मूलका प्रहरीलाई मञ्चमा बोलाएर परिचय गराउनु महोत्सवको विशेष क्षण बनेको थियो ।


धार्मिक तथा सांस्कृतिक झाँकी, आकर्षक फायरवर्क, विविध मनोरञ्जनात्मक कार्यक्रम र नेपाली परिकारका स्टलहरूले महोत्सवलाई बहुरंगी बनाएका थिए । विशेषगरी, संयोजक उषा बारिया पोखरेलले प्रस्तुत गरेको तीज गीतमा नृत्यले दर्शकलाई झुमायो भने कलाकार निता ढुंगानाको सांगीतिक प्रस्तुतीले महोत्सवलाई अझै जीवन्त बनायो ।
कार्यक्रममा पण्डित प्रकाश ढोडारी, हिन्दू सोसाइटीकी उपाध्यक्ष सुनिता पाठक, वरिष्ठ पत्रकार हेमन्त काफ्ले, एनजाका अध्यक्ष कृष्ण तिवारी, ओबर्न नेप्लिज कम्युनिटीका अध्यक्ष अरुण श्रेष्ठ तथा महासचिव सुरज बुढाथोकी, आईसीसी सल्लाहकार डिल्लि ढकाल, डा। नारायण प्रधान दम्पतीलगायत संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता उल्लेख्य रह्यो ।
अध्यक्ष लक्ष्मी वास्ताकोटीले सबैलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरिन् । दिनभरि महिला, पुरुष, युवा तथा बालबालिकाको उत्साहपूर्ण सहभागिताले बरूड पार्कलाई नेपाली संस्कृतिको रंगमा रङ्गायो ।
संयोजक उषा बारियाले महोत्सवमा सहभागिता विगतका वर्षभन्दा अझै उल्लेखनीय भएको बताउँदै भनिन्, “मुख्यमन्त्रीस्तरको उपस्थिति हाम्रो समुदायका लागि गर्वको विषय हो ।”
यसरी अष्ट्रेलियाली सरकारका उच्च तहका प्रतिनिधिको उपस्थिति र समर्थनले नेपाली संस्कृतिप्रतिको सम्मानलाई प्रष्ट रूपमा देखाएको छ । बरूड पार्कमा सम्पन्न तीज महोत्सव केवल पर्वको उत्सव मात्र नभई अष्ट्रेलियामा बहुसांस्कृतिक सहअस्तित्वमा नेपाली समुदायको गौरवपूर्ण पहिचानको उदाहरणीय प्रस्तुति बनेको छ ।

