Aamsanchar

वालेन विरुद्धको कबाड व्यवसायीको प्रदर्शनमा सुकुम्बासीको पनि साथ

Author Image
बुधवार, भदौ ११, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कबाड व्यवसायीले आज ९बुधबार० तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शन कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयसम्म पुगेको छ ।

कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरित मेयर बालेन्द्र शाहले कबाड व्यवसायमाथि निरन्तर ज्यादती गरिरहेकाले आफूहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए । उनले सर्वोच्च अदालतको आदेश तत्काल कार्यान्वयन गर्नुपर्ने र व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा काम गर्न दिनुपर्ने माग गरे ।

‘सर्वोच्च अदालतको आदेश विपरित महानगरले कवाड व्यवसायमा तोडफोड गर्दै अत्याचार गरेको छ,’ गुप्ताले भने, ‘कानूनको पालना गर्ने प्रतिबद्धता जनाएपछि मात्र आन्दोलन स्थगित हुन्छ ।’

शान्तिपूर्ण आन्दोलनमा सुकुम्बासी समुदायले पनि साथ दिएको छ । आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास मोर्चाका अध्यक्ष कालबहादुर विकले कबाड आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मेयर बालेनको गैरकानूनी गतिविधिको कडा विरोध गर्नुपर्ने बताए ।

आन्दोलनकारीले “सर्वोच्च अदालतको आदेश पालना गर”, “कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर”, “बालेनको गुण्डागर्दी बन्द गर” लगायतका नारा लगाएका थिए ।

कबाड व्यवसायीहरूले राखेका ५ बुँदे मागमा–

संविधानले ग्यारेन्टी गरेको पेशा–व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने,

व्यवसायी, संकलक र मजदुरमाथि महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोक्नुपर्ने,

संलग्न महानगर प्रहरीलाई कानुनी कारवाही गर्नुपर्ने,

व्यवसायी र मजदुरको ज्यान–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने,

विगत दुई वर्षमा महानगरले पुर्‍याएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग समावेश छन् ।

यसैबीच, आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कबाड आन्दोलनलाई बेवास्ता गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै महानगरले व्यवसायमाथि गरेको ज्यादती रोक्न र विधिको शासन सुनिश्चित गर्न आग्रह गरेका छन् ।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर