इलाम । जितपुर माध्यमिक विद्यालयका एक शिक्षकमाथि विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोप लागेको छ।

स्थानीय अभिभावकका अनुसार सो विद्यालयका एक विद्यार्थीलाई गल्ती गरेको भन्दै करिब दुई घण्टासम्म निरन्तर कुटपिट गरिएको हो। घटनास्थलमा रहेका विद्यार्थीहरूले समेत सामूहिक रूपमा शिक्षकद्वारा कुटपिट भएको देखेको पुष्टि गरेका छन्।

घटनापछि पीडित विद्यार्थीलाई उपचारका लागि लगिएको र हाल स्वास्थ्य परीक्षण बिर्तामोड स्थित एक अस्पतालमा चेकजाँच भएको थियो ।

अभिभावकहरूले विद्यार्थीले गल्ती गरे पनि सजाय दिनुको साटो कानुनी तथा शैक्षिक विधिबाट समाधान खोज्नुपर्नेमा शिक्षकले गुन्डा शैलीमा व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले विद्यालय प्रशासन र शिक्षक संघमा राजनीतिक प्रभाव बढेको, अभिभावकले गुनासो गर्दा उनीहरूलाई नै दबाब दिने गरेको आरोपसमेत लगाएका छन्।

यता विद्यालयका प्रधानाध्यापकले भने, “विद्यार्थीलाई सामान्य सम्झाएको मात्रै हो, मरणासन्न हुने गरी कुटपिट भएको होइन,” भन्ने प्रतिक्रिया दिएका छन्। तर अभिभावकहरूले यो जवाफलाई अस्वीकार गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
घटनापछि स्थानीय समाजमा आक्रोश चुलिएको छ र यसबारे कानुनी कारबाहीको माग बढ्दो क्रममा रहेको छ।

