

विराटनगर – विराटनगर महानगरपालिका क्षेत्रमा जग्गा कित्ताकाटको काम रोकिएको छ । स्थानीय तहले नापी कार्यालयलाई बुझाउनुपर्ने भूउपयोगसम्बन्धी विवरण नबुझाएपछि कारण कित्ताकाट रोकिएको हो ।

विवरण नदिएसम्म कित्ताकाट हुन नसक्ने नापी कार्यालय मोरङले जनाएको छ । ‘असार मसान्तसम्म दिइसक्नुपर्नेमा महानगरले दिएको छैन । यसबारे प्रमुख प्रशासकीय अधिकृतसँग पनि मैले आफैँले छलफल गरेको छु । त्यो विवरण आउन बाँकी छ,’ नापी कार्यालयका प्रमुख वृज कर्णले भने ।

उनका अनुसार, कित्ताकाट नहुँदा जग्गासम्बन्धी कारोबार हुन सकेको छैन । स्थानीय तहको प्रमुख आयस्रोतमा जग्गा किनबेचबाट प्राप्त हुने राजस्वसमेत हो ।

विराटनगर महानगरपालिकाले दुई वर्ष पहिले भूउपयोग नीति तयार गरेको थियो । तर, त्यससम्बन्धी अद्यावधिक विवरण नापीमा बुझाएको छैन ।
‘जुनजुन वडाबाट क्लियर हुन्छ । नापी र मालपोत कार्यालयमा पठाए काम सुरु हुन्छ,’ कर्णले भने ।
भूउपयोग नीति स्थानीय तहलाई नापी विभागले एउटा ‘डेटा’ यसअघि नै उपलब्ध गराएको थियो । थपघट गर्नुपरे सुझाव लिन सकिनेसमेत व्यवस्था गरिएको छ ।
स्थानीय तहले आफ्नो वडामा कृषि वा व्यावसायिक कुन प्रकृतिको जग्गा हो भनेर छुट्याउनुपर्छ । त्यसको अद्यावधिक विवरण पठाउनुपर्छ । प्राविधिक सहयोग चाहिए नापी कार्यालयले दिन्छ वा विभागले पनि दिन्छ । तर, महानगरले अहिलेसम्म प्राविधिक सहयोग माग नगरेको कर्णले बताए । विराटनगर महानगरमा १९ वडा छन् ।

