

धनकुटा – जिल्लामा विश्वकै लामो र दुर्लभ मानिने किङ कोब्रा सर्प भेटिएको छ। पाख्रीबास नगरपालिका–५, घोर्लिखर्क स्थित दियालेमा किङ कोब्रा भेटिएको हो।

उक्त सर्प लेगुवाका प्रदीप श्रेष्ठले बिहिबार राति ९ बजे उद्धार गरेका हुन्। उनले धनकुटामा दोस्रो पटक किङ कोब्रा देखिएको बताए। करिब साढे १० फुट लम्बाइ र साढे ७ केजी तौलको किङ कोब्रा सर्प उद्धार गरेको उनले बताए।

स्थानीय बलिन्द्र मगरको घरमा भेटिएको सर्प करिब एक घण्टा लगाएर उद्धार गरिएको हो। यो सबैभन्दा विषालु सर्प रहेको श्रेष्ठले बताए।

स्थानीयले सर्प देखेपछि श्रेष्ठलाई खबर गरेका थिए। उनले यसभन्दा अगाडिको वैशाख १९ गते धनकुटको महालक्ष्मी नगरपालिका–४, स्थित लेगुवाबाट पहिलो पटक १२ फुट लम्बाइ र सात किलो तौलको किङ कोब्रा सर्प उद्धार गरेका थिए।
उनले करिब पाँच वर्षदेखि सर्प उद्धार गर्दै आएको बताए। अहिलेसम्म तीन सयभन्दा माथि सर्प उद्धार गरिसकेको उनको भनाइ छ। यो किङ कोब्र धनकुटामा भने दोस्रो पटक उद्धार गरेको श्रेष्ठको भनाई रहेको छ। उनले धनकुटा लगायत विभिन्न जिल्लामा सर्प उद्धार गर्दै आएको बताए।
उद्धार गरेको सर्प डिभिजन वन कार्यालय धनकुटामा बुझाइएको छ। सर्प रहेको ठाउँमा स्थानीयले खबर गरेपछि उद्धारमा बोलाउने आफ्नै खर्चमा सबै काम गर्नुपर्छ।
आवश्यक सीमित श्रोत साधनका कारण समस्या र खतरा पनि हुने गर्छ। यसतर्फ भने स्थानीय सरकारलाई कुरा राख्दा समेत चोसो व्यक्त नगरेको सर्प उद्धार श्रेष्ठको भनाई रहेको छ।

