

काठमाडौँ – पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोप लागेका चार जना धरौटीमा रिहा भएका छन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलाले उनीहरूलाई जनही १० हजार धरौटीमा छाड्न आदेश दिएको अदालतले जनाएको छ। उनीहरू धरौटी बुझाएर छुटिसकेका छन्।

अदालतले सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भएका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरको कटारी नगरपालिका–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव धरौटीमा रिहा गरेको हो।

उनीहरूमाथि मुलुकी फौजदारी अपराध संहिताको धर्मसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो।
Views: 63

