बिर्तामोड। राजवंशी समाज विकास समितिले सशस्त्र प्रहरीका एक जिम्मेवार अधिकृतले राजवंशी समुदायलाई लक्षित गरी गरेको जातीय अपमानप्रति कडा आपत्ति जनाएको छ। समितिले यस्तो घृणित व्यवहारले समग्र राजवंशी मात्र नभई मुलुककै सामाजिक सद्भावमा आघात पुगेको बताउँदै कानूनी कारबाहीको माग गरेको छ।

समितिद्वारा जारी विज्ञप्तिअनुसार साउन १६ गते साँझ टिमाई चेकपोष्टका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक केदार श्रेष्ठले शुष्मा काष्ठ उद्योगका सञ्चालक राजु राजवंशी ‘सन्तोष’ का चालकहरू रविन राजवंशी र रत्नबहादुर बस्नेतलाई अपमानजनक शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। श्रेष्ठले ‘तेरो साहू राजवंशी मधेसी होइन, अब तेरो साहू राजवंशी मधेसीले बाउको बिहे देख्ने भयो’ भन्ने अभिव्यक्ति दिएको समितिले जनाएको छ।

समितिका अध्यक्ष सिरतलाल राजवंशीले यस्तो जातीय विभेदपूर्ण र अमानवीय शब्द प्रयोगले सम्पूर्ण राजवंशी समुदाय अपमानित भएको बताउँदै भने, “हामी आन्दोलित छौं, जातीय विद्वेष फैलाउने यस्तो व्यवहार कतै पनि स्वीकार्य छैन।”

नेपालको संविधानले जातीय भेदभाव र छुवाछूतलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरेको उल्लेख गर्दै समितिले दोषी प्रहरीलाई जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० ऐन बमोजिम कडा कारबाही गर्न सरोकारवाला निकायलाई आग्रह गरेको छ।

त्यस्तै, राजवंशी समुदायलाई बारम्बार “सीधा र पछाडि पारिएको जात” भनेर गर्ने अपमानजनक व्यवहार अब तत्काल बन्द गर्न समेत समितिले चेतावनी दिएको छ।



