

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र सुरुङ्गाले ऋणी सदस्य लगनबत्ती चौधरीको असामयिक निधनपछि कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत ऋण मिनाहा गरेको छ।

कनकाई नगरपालिका –४ निवासी चौधरीको निधनपछि संस्थाले लिएको ऋण मिनाहा बापत रु ५ लाख र काजकिरिया खर्च बापत रु २५ हजार गरी जम्मा रु ५ लाख २५ हजार उनकी छोरी छत्रिका चौधरीलाई सोमबार एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो।

सेवा केन्द्र सञ्चालन उपसमिति संयोजक निर्मल दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य राम भुजेल, चन्द्रा सिटौला, सेवा केन्द्र प्रमुख टिकाबहादुर प्रधानलगायतको उपस्थिति थियो। कार्यक्रममा कर्मचारी रेवत ओझाले सञ्चालन गरेका थिए।


कार्यक्रममा संयोजक दाहालले सहकारी संस्थाले सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै ल्याएको कर्जा सुरक्षण कार्यक्रमबारे जानकारी गराउँदै चेक हस्तान्तरण गर्नुभएको थियो।
चेक प्राप्त गरेपछि छत्रिका चौधरीले उक्त रकम आमाको उपचार खर्चका कारण लागेको ऋण तिर्न प्रयोग गरिने बताउँदै भावुक भएकी थिइन्।

