Aamsanchar

“हाम्रो गाउँ, हाम्रो श्रम : रोङमा सहभागितामूलक विकास” श्रम नगरे वडाको सिफारिस रोक्ने कानुनी व्यवस्था

Author Image
बुधवार, भदौ १८, २०८२

बिर्तामोड ।
“देश सरकारले मात्रै बनाइदिन्छ भन्ने सोच अब पुरानो हुन थालेको छ, गाउँ र देश बनाउन नागरिक आफैं खटिनुपर्छ।” — यही विश्वाससहित इलामको रोङ गाउँपालिकाले अनौठो तर प्रभावकारी अभियान सुरु गरेको छ ।

गाउँपालिकाले कार्यविधि बनाएर प्रत्येक घरका एक सदस्यले महिनामा कम्तीमा एक दिन श्रमदान गर्नुपर्ने व्यवस्था गरेको छ । अहिले गाउँपालिका भित्रका ५७ वटा टोल विकास संस्थामार्फत स्थानीय बासिन्दाले सडक मर्मत, नाली सफा, विद्यालयको घेराबार, मठमन्दिर पुनर्निर्माणदेखि सामुदायिक वनमा वृक्षरोपणसम्मका काम आफ्नै हातले गर्न थालेका छन्।

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो भन्छन्,
“सरकारसँग सीमित बजेट छ, तर आवश्यकताहरू असीमित छन्। यसैले स्थानीय सरकारलाई दोष मात्र दिने होइन, आफैं पनि श्रम गरेर सहभागिता जनाउने संस्कार विकास गर्नुपर्ने देखेर यो अभियान सुरु गरेका हौँ।”

श्रम नगरे वडाको सिफारिस रोक्ने कानुनी व्यवस्था नै गाउँपालिकाले गरेको छ । सुरुमा टोल विकास संस्थाका पदाधिकारीलाई प्रशिक्षण दिइयो र वार्षिक २० हजार रुपियाँ बजेटसहित जिम्मेवारी दिइयो। परिणाम, अहिले हरेक टोलमा श्रम संस्कृतिको वातावरण फैलिएको छ ।

रम्भ्याङको थर्पु टोल विकास संस्थाका अध्यक्ष युवराज आचार्य भन्छन्,
“सडकमा राखिएका गोलिया हटाउनेदेखि सडक मर्मतसम्म हामी आफैं जुटेका छौँ। यसरी काम गर्दा सडक बिग्रन पनि रोकिएको छ र गाउँ थप व्यवस्थित बन्दैछ।”

यसैगरी चामेटार टोल विकास संस्थाका अध्यक्ष प्रदीप भुजेलको अनुभव छः
“कार्यविधि बनेपछि सबै एकजुट भएका छौँ। आफैंले आफ्नो गाउँ बनाउनुपर्छ भन्ने चेतना पलाएको छ।”

यो श्रम संस्कृतिको प्रभावले गाउँपालिकाका धार्मिक तथा पर्यटकीय स्थल स्वच्छ र आकर्षक बन्दै गएका छन्। नागरिक आफैं खटेकाले खर्च कम भएको छ भने काममा अपनत्व पनि बढेको छ।

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान भन्छन्,
“नागरिक आफैंले श्रम गर्दा न त पालिकालाई बढी खर्च लाग्छ, न त संरचनाको संरक्षणमा समस्या हुन्छ । यसरी साझा जिम्मेवारीको बोध भयो भने मात्र देशलाई सचमुच बनाउन सकिन्छ।”

रोङ गाउँपालिकाले कृषि उत्पादन (गुन्द्रुक, करेला, सिस्नो, कुचो, बेसार, मह) को ब्राण्डिङ र बजार विस्तारदेखि शिक्षा क्षेत्र सुधारका लागि मासिक अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरिरहेको छ।

यसरी हेर्दा, रोङ गाउँपालिकाले देखाएको बाटो एउटा ठूलो सन्देश हो— देश सरकार मात्रले बनाउने होइन, नागरिक आफैंले जिम्मेवारी लिने हो भने गाउँले मुहार फेरिन्छ, देश आफैं सुन्दर बन्छ।

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर