

सुलीकोट- उत्तरी गोरखाको ल्होमा दुई घर जलेर नष्ट भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका-२ ल्होस्थित सियो गाउँमा स्थानिय लाक्पा नुर्बु लामा र पेमा छिरिङ लामाको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार बिहान ३ बजेको समयमा घरमा पूजा गर्दा बालेको बत्तीबाट आगो सल्किएर दुई घरमा आगो लागेको हुनसक्छ । आगोलागीबाट दुई वटै घर भित्र रहेको लत्ता कपडा, गरगहना, र अन्नपात पूर्णरुपमा नष्ट भएको ल्हो–२ का वडा अध्यक्ष मिङमार दोर्जे लामाले बताउनुभयो ।

‘दुई घरमा आगोले जलेर नष्ट भएको छ,’ प्रहरी उपरीक्षक सुबेदीले भन्नुभयो, “घरभित्रको सबै सामन, लत्ताकपडा, टेबुल दराज, भाडाकुडाँ सामन जलेर पूर्ण रुपमा क्षति भएको छ ।”

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकीबाट प्रहरी टोली घट्नास्थल पुगेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगोलागीबाट मानिबय क्षति नभएको बताइएको छ भने उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

