

काठमाडौं – अमेरिकाले नेपाली सेनालाई दुईवटा ‘एम २८ स्काई ट्रक’ हस्तान्तरण गरेको छ । वैदेशिक सहायता कार्यक्रमअन्तर्गत ती दुईवटा विमान बिहीबार हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।

अमेरिकाले हस्तान्तरण गरेको दुईवटा स्काई ट्रकमा एउटा ‘एयर एम्बुलेन्स’ रहेको छ । ती दुई स्काई ट्रक पूर्ण अनुदानमा सहयोग स्वरूप प्राप्त भएको सेनाले जनाएको छ ।

बिहीबार गौचरस्थित मध्य एयर वेसमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रमुख आतिथ्य र रक्षामन्त्री मानवीर राईको उपस्थितिमा नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले प्रधानसेनापति अकोश राज सिग्देललाई ती विमान हस्तान्तरण गरेका थिए ।

“अमेरिकी सेनाद्वारा प्रदान गरिएको उक्त स्काई ट्रकहरू सैनिक प्रयोजनलगायत विपद् व्यवस्थापन तथा विभिन्न आपतकालीन उद्धारका लागि प्रयोग हुनेछ,” नेपाली सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्रीले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिएकी थिइन् ।
सोही अवसरमा नेपालका लागि अमेरिकी राजदूत थम्पसनले हस्तान्तरण गरिएका दुई वटा स्काई ट्रकहरूले दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धमा महत्त्वपूर्ण आयाम थपिएको बताए । उनले निकट भविष्यमा सहयोग स्वरूप थप दुईवटा बेल हेलिकोप्टर प्रदान गर्ने योजना रहेको समेत जनाए ।
अमेरिकाले आज (भदौ १९)गते नेपाली सेनालाई तीन करोड ७० लाख अमेरिकी डलर (करिब सवा पाँच अर्ब रुपैयाँ)बराबरको विदेशी सैन्य वित्तपोषण (एफएमएफ) अनुदानमार्फत दुईवटा नयाँ एम–२८ स्काइट्रक विमान प्रदान गरेको छ । जसबाट नेपालको हवाई उद्धार क्षमतामा अभिवृद्धि भएको छ ।

