

जाजरकोट – जाजरकोटमा एसियाली सुनौलो बिरालो फेला परेको छ। क्यामेरा ट्र्यापबाट जिल्लाको बारेकोटमा सुनौलो बिरालो (गोल्डेन क्याट) फेला परेको हो। एसियाली सुनौलो बिरालोका ६ वटा रंगरूप हुन्छन। सुनौलो, दालचिनी, खरानी रंग, कालो (मेलानिस्टिक), ओसेलट तथा बाक्लो गुलाबधारी प्रमाणित छन्। जसले यस बिरालोलाई विभिन्न वातावरणमा अनुकूल हुन मद्दत गर्दछ। जाजरकोटमा कालो (मेलानिस्टिक)मर्फ बिरालो भेटिएको हो।


रुफोर्ड फाउन्डेसनको आर्थिक सहयोगमा २०२४ मे २९ देखि अक्टोबर १३ सम्म जाजरकोटको बारेकोट कुशे गाउँपालिका तथा नलगाड नगरपालिकामा रेडपाण्डालक्षित गरी करिब ४० क्यामेरा ट्र्याप जडान गरिएका थिए। ती क्यामराबाट जाजरकोटमा कैद गरिएका तस्बिरहरूमध्ये बारेकोट गाउँपालिकामा करिब १ हजार २७ ट्र्याप दिनहरूमा जम्मा ५९ हजार २ सय २८ तस्बिरहरू प्राप्त गरिए, जसमा एक मात्र तस्बिर २०२४ अगस्ट २८ मा बारेकोट गाउँपालिकाको ताम्तुबाट प्राप्त भएको हो। ती तस्बिरहरू वर्गीकरण गर्ने क्रममा एसियाली सुनौलो बिरालो जस्तो देखिने एक तस्बिर फेला परेको थियो। गंगाराम रेग्मी र यादव घिमिरेसहितका जंगली बिरालो विशेषज्ञहरूले उक्त तस्बिर सुनौलो बिरालोकै रहेको पुष्टि गरेको अनुसन्धानकर्ता बद्री बरालले बताए। क्यामेरा ट्र्यापबाट प्राप्त सबै तस्बिरलाई व्यवस्थित रूपमा डाउनलोड गरी प्रजातिअनुसार वर्गीकरण गरिएको थियो।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) अन्तर्गतको प्रजाति संरक्षण आयोगको बिरालोको विज्ञ समूहद्वारा प्रकाशित हुने वैज्ञानिक पत्रिका क्याटन्युजले हालै जाजरकोटमा पहिलो पटक एसियाली सुनौलो बिरालो फेला परेको कुरा प्रकाशनमा ल्याएको छ।
जंगली बिरालो प्रजातिहरूको संरक्षणमा वैज्ञानिक जानकारीको आदानप्रदान गर्ने बिरालो प्रजातिहरूको नयाँ अनुसन्धान र अवलोकनहरूलाई विश्वसामु प्रस्तुत गर्ने, नीति निर्माणकर्ताहरू, अनुसन्धानकर्ताहरू र स्थानीय समुदायहरूलाई जानकारीमूलक सामग्री प्रदान गर्ने उद्देश्यका साथ यो पत्रिका सन् १९८४ देखि नियमित रूपमा प्रकाशित हुँदै आएको हो। यो पत्रिकाले हालसम्म संसारका ४० भन्दा बढी जंगली बिरालो प्रजातिहरूको संरक्षणसम्बन्धी जानकारी, अनुसन्धान, र समाचारहरू समेटिसकेको छ।
नेपालमा पाइने वन्य बिरालो प्रजातिहरू जैविक विविधताका महŒवपूर्ण हिस्सा हुन्। हालसम्म नेपालमा १३ वटा वन्य बिरालो प्रजातिहरूको उपस्थिति पुष्टि भइसकेको छ, जसमा साना र ठूला दुवै प्रजातिहरू समावेश छन्। जंगली बिरालो प्रजातिहरूमध्ये एसियाली सुनौलो बिरालो सबैभन्दा कम अध्ययन गरिएका प्रजातिहरूमध्ये एक हो। हालै सुनौलो बिरालोलाई आईयूसीएनको रेड लिस्टमा ‘संवेदनशील’ श्रेणीमा सूचीकृत गरिएको छ। नेपालको राष्ट्रिय रेड लिस्टमा ‘कम तथ्यांक भएको’ जनावरको रूपमा वर्गीकृत गरिएको छ। यो प्रजाति नेपालका मध्यपहाडी जंगलमा पाइन्छ। विशेषगरी पूर्वी नेपालमा यसको उपस्थिति क्यामेरा ट्र्यापमार्फत पुष्टि गरिएको थियो।
जाजरकोटमा पहिलो पटक फेला परेको एसियाली सुनौलो बिरालोको यो वितरण क्षेत्रलाई विश्वमै पश्चिमतर्फ ३ सय ९५ किलोमिटरले विस्तार गरेको छ। यो खोजले नेपालमा साना बिरालो प्रजातिहरूको संरक्षणको आवश्यकता झनै स्पष्ट बनाएको छ। यस प्रजातिको उपस्थिति विश्वमै नेपालमा गौरीशंकर संरक्षण क्षेत्रभन्दा पश्चिमतर्फ अहिलेसम्म अभिलेख गरिएको थिएन। सन् २०२४ डिसेम्बर ३ देखि ७ सम्म साना जंगली बिरालो संरक्षण प्रतिष्ठानअन्तर्गत स्थापित ध्वाँसे चितुवा कार्यसमूह तथा रस्टी स्पटेड बिरालो कार्यसमूहको संयुक्त अन्तर्राष्ट्रिय बैठकमा विश्वभरका वन्य बिरालो विशेषज्ञहरू, संरक्षणकर्मीहरू तथा संस्थागत प्रतिनिधिहरूको सहभागितामा एसियाली सुनौलो बिरालोको विश्वकै पश्चिममा पाइएको यो अभिलेखलाई प्रकृति संरक्षण अभियान नेपालका कार्यकम संयोजक बद्री बरालले प्रस्तुति दिएका थिए।
विशेषगरी ग्रामीण नेपालमा, जहाँ साना बिरालोहरूलाई कुखुरा मारेको आरोपमा प्रतिशोधस्वरूप मारिने घटना सामान्य छन्, त्यस्ता संरचनात्मक उपायहरूले द्वन्द्व घटाउन सहयोग पु¥याउँछन्। बासस्थान विनाश र जंगलको अन्धाधुन्ध दोहन, ग्रामीण बस्तीहरूमा कुखुरा तथा बाख्राहरू मारेको आरोपमा प्रतिशोधस्वरूप हत्या, साना बिरालोहरूलाई ‘हानिकारक’ जनावरको रूपमा हेर्ने सामाजिक धारणाले गर्दा एसियाली सुनौलो बिरालोलगायतका साना जंगली बिरालोहरू संकटमा परेका छन्।
बारेकोट गाउँपालिकाको ताम्तु क्षेत्र राष्ट्रिय वन क्षेत्र हो। संरक्षित क्षेत्रबाहिर पाइएको यो अभिलेखलाई नेपालमा मात्र नभई विश्वका मासांहारी जनावरमा काम गर्ने संघसंस्था, अनुसन्धानकर्मीहरूले विशेष चाखका साथ हेरेका छन्।
यस सन्दर्भमा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित प्यान्थेरा कर्पोरिसनको स्मल क्याट एक्सन फन्ट (एसक्याफ)तथा अमेरिका, फ्लोरिडा राज्यमा आधारित इष्ट कोस्ट जुलोजिकल फाउन्डेसनमार्फत सञ्चालित ब्रेवार्ड चिडियाखानाको विकास, संलग्नता र स्रोतहरू भनिने कार्यक्रमबाट एसियाली सुनौलो बिरालो संरक्षणका लागि प्रकृति संरक्षण अभियान नेपालका कार्यकम संयोजक तथा अनुसन्धानकर्ता बद्री बरालले सहयोग प्राप्त भएको जानकारी दिए।
यस परियोजनाले समुदाय–आधारित संरक्षणलाई प्रवद्र्धन गर्दै स्थानीय जनतालाई सचेतना, सहकार्य र संरक्षणमा सहभागी गराउने उद्देश्य राखेको छ। यसले साना बिरालोहरूको वास्तविक भूमिका र पारिस्थितिक महत्वबारे जनचेतना फैलाउने काम गर्दछ।

