

काठमाडौँ – मध्यपुर थिमिमा आइतबार ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ अर्थात् जिब्रो छेड्ने जात्रा हुँदैछ। जात्रा मध्यपुर थिमि-५ दिगुलीस्थित दिगुभैरव डबलीमा साँझ ७ बजे शुरु हुनेछ। यो वर्ष पनि बालकुमारीका ३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेडाउने संस्कृतिलाई निरन्तरता दिँदैछन्।

भाद्र शुक्ल पूर्णिमाको साँझ जिब्रो छेडिसकेपछिर महादीप बोकेर तीर्थस्थल यात्रा गरेर फर्किने परम्परा छ। श्रेष्ठ यो वर्ष बालकुमारीको दर्शनपछि महादीपसहित तय गरिएको मार्ग भक्तपुरको दत्तात्रेय र नवदुर्गा मन्दिरसम्म पुग्नेछन्। त्यहाँबाट पुनः बालकुमारीमा फर्किएर जिब्रो छेडेको सुइरो निकालेपछि राति जात्रा सम्पन्न हुनेछ।

केही वर्ष सञ्चालन हुँदै र रोकिँदै आएको जिब्रो छेड्ने जात्रा २०६३ सालदेखि रोकिएर ११ वर्षपछि २०७४ सालमा वीरेद्रभक्तकै अगुवाइमा शुरु भएको थियो । त्यसयता उनले २०७९ र २०८१ सालमा जिब्रो छेडेका थिए। यसबीचमा २०७५ सालमा बालकराम श्रेष्ठले जिब्रो छेडाएका थिए।


जात्रा सञ्चालनका लागि एक महिनाअघि नै ‘कमी नायो’ले करिब एक फिट लामो सुइरो निर्माण गरी शुद्ध तोरीको तेलमा डुबाएर राख्ने गरिन्छ।
जात्रा मनाएपछि नगर रोग, अनिकाल र प्राकृतिक विपत्तिबाट जोगिने विश्वास छ।
यो पटक जात्रा अवलोकनका लागि उपप्रधानमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेश सरकारका संस्कृतिमन्त्री सुरेश श्रेष्ठलगायत पनि मध्यपुर थिमी पुग्ने मध्यपुर थिमीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए।

