काठमाडौं । जेनजेड युवामाथि गरिएको प्रहरी दमनले १७ जनाको ज्यान गएपछि नेपाली कांग्रेसभित्रै गृहमन्त्री रमेश लेखकको राजीनामा माग तीव्र बनेको छ। दमनमा परेर दर्जनौं घाइते भएका घटनापछि कांग्रेसका केन्द्रीयदेखि तल्लो तहका नेता–कार्यकर्ताले मन्त्री लेखकलाई तत्काल जिम्मेवारी त्याग्न दबाब बढाएका छन्।

कांग्रेस केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. गोविन्द पोखरेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई जिम्मेवारी लिन आग्रह गरेका छन्। “गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ, यदि नदिए पार्टीले तत्काल फिर्ता बोलाउनु अपरिहार्य हुन्छ,” पोखरेलले लेखेका छन्।

यस्तै, नेविसंघकी पूर्व नेतृ एलिजा ढकालले गृहमन्त्री लेखक प्रधानमन्त्री केपी शर्मा ओलीको “तानाशाही प्रवृत्ति” का सहयोगी भएको आरोप लगाउँदै कांग्रेसलाई सरकारबाट बाहिरिन सुझाव दिइन्। “कुनै भवनको पर्खालभन्दा मान्छेको जीवन महत्त्वपूर्ण हुन्छ,” ढकालले लेखिन्, “नालायक गृहमन्त्रीले राजीनामा दिनुपर्छ र रगतको दाग लागेको सरकारबाट कांग्रेस तत्काल बाहिरिनुपर्छ।”

कांग्रेसभित्रैको असन्तुष्टिको स्वरलाई जोड्दै नेता व्रितान्त खनालले पनि पार्टीलाई सरकार छाड्न दबाब दिएका छन्। “यदि अझै कांग्रेसले चुपचाप बस्ने हो भने हामी आफैं आन्दोलनको घोषणा गर्छौं,” उनले चेतावनी दिए।


त्यस्तै, नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई “अपराधी” को संज्ञा दिँदै आन्दोलनमा ऐक्यबद्ध हुने घोषणा गरे। “हाम्रा बच्चालाई यसरी मार्ने सरकारलाई माफी दिन सकिँदैन। यो आन्दोलन अब हाम्रो पनि हो,” उनले भने।
गृहमन्त्री लेखकको भूमिकाप्रति आक्रोश बढेसँगै कांग्रेसभित्र सरकार छाड्ने वा निरन्तर सहभागी रहने भन्ने विषयमा चर्को बहस सुरु भएको छ।

