काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले हालको राजनीतिक अस्थिरता र संकटपूर्ण अवस्थाबारे १० बुँदे आव्हान सार्वजनिक गरेका छन् ।

उनले पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै विकसित घटनाक्रमको गहिरो विश्लेषण, आत्मालोचना र संगठनात्मक पुनर्गठनमार्फत पार्टी एकतालाई मजबुत बनाउनुपर्ने बताएका छन् । साथै, पार्टीका आन्तरिक प्रक्रिया पारदर्शी र लोकतान्त्रिक बनाउनुपर्नेमा जोड दिएका छन् ।

भट्टराईले जनतासँग प्रत्यक्ष सम्पर्क बढाउन, जनताको आवाज सुन्न र त्यसअनुसार निर्णय गर्न आग्रह गरेका छन् । लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता र कानूनको शासनलाई मूल मूल्यका रूपमा प्रस्तुत गर्दै उनले “यसबाट विचलित नहुन” कार्यकर्तालाई सचेत गराएका छन् ।

उनले देश पुनर्निर्माणका लागि सबै पक्षसँग सहकार्य आवश्यक रहेको बताउँदै हिमाल, पहाड, तराई तथा सबै जातजाति र भाषाबीचको एकतालाई सुदृढ बनाउनुपर्ने धारणा राखेका छन् । संवैधानिक र लोकतान्त्रिक मूल्यअनुरूप राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने र अन्तर्राष्ट्रिय समुदायले समेत नेपाली प्रयत्नलाई सहयोग गर्नुपर्ने उनले बताएका छन् ।


त्यस्तै, भट्टराईले Gen Z समूहले अघि सारेका भ्रष्टाचार अन्त्य र सुशासनका मागलाई समर्थन जनाउँदै कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

