

काठमाडौं : राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार अपराह्न विशेष बैठक सुरु भएको छ। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजी पुस्ताले प्रधानमन्त्रीका लागि अघि सारेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सहभागी छन्।

जेनजी आन्दोलनका विभिन्न समूहले संसद् विघटनलाई अनिवार्य शर्त बनाएकोमा राजनीतिक समाधान खोज्न बैठक बोलाइएको हो। स्रोतका अनुसार सरकारले अन्य विषयमा केही प्रगति गरेको देखिए पनि संसद् विघटनको प्रश्नमा सहमति जुट्न सकेको छैन।
काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र जेनजी नेतृत्वले संसद् विघटनलाई ‘बटम लाइन’ मानेका छन्। तर, राष्ट्रपति पौडेल यस विषयमा सहमत हुन हिचकिचाइरहेका कारण वार्ता अड्किएको बताइएको छ।
बैठकले कानुनी विकल्पका बारेमा गहिरो छलफल गर्ने तयारी गरेको बताइएको छ। तर अन्ततः संसद् विघटन हुने वा नहुने भन्ने टुंगो भने अझै ननिक्लिएको स्रोतहरूको भनाई छ।

