

झापा – जेनजी युवा पुस्ताको आन्दोलनको क्रममा झापामा तीन प्रदर्शनकारीको मृत्यु भएको छ। प्रदर्शनको क्रममा बिर्तामोडमा घाइते भएका एक प्रदर्शनकारीको उपचारको क्रममा मृत्यु आज भएसँगै मृतकको सङ्ख्या तीन पुगेको हो।


मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका(८ स्थित हात्तीकिल्ला निवासी ३२ वर्षीय दिनेश राजवंशी रहेका छन्। उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान ११स्३५ बजे मृत्यु भएको परिवारजनले जनाएका छन्। झडपपश्चात् प्रदर्शनकारीहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडलाई कब्जा लिई आगजनी गर्ने क्रममा कार्यालयभित्र रहेको ग्यास सिलिन्डर विस्फोट भई राजवंशी घाइते भएका थिए। उनको पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो।

त्यस्तै प्रदर्शनको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि भएको झडपमा हिलिहाङ(२ पाँचथर घर भई बिर्तामोड १० मा बस्दै आएका अन्दाजी ३५ वर्षका कमल भण्डारीको प्रहरीको गोली लागि मृत्यु भएको।
भदौ २४ गते गोली लागेको उनको उपचारको क्रममा भदौ २५ गते मृत्यु भएको थियो। त्यसैगरी भदौ २४ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्न गएका प्रदर्शनकारीसँगको झडपमा प्रहरीले गोली चलाउँदा अर्जुनधारा नगरपालिका-८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको थियो। प्रहरीको गोली लागेका सेढाई सडकमै ढलेका थिए। उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो।
अझै पनि प्रदर्शनको क्रममा केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

