

काठमाडौं – मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधनको आज(शनिबार)देखि आवागमन सुरू भएको छ। कर्फ्यू र निषेधाज्ञा हटेसँगै हिजो फाट्टफुट्ट मात्र चलेका सवारी साधन आज बिहानदेखि बाक्लो संख्यामा देखिएका हुन्।

‘जेनजी’ले प्रदर्शन सुरू गरेको माइतीघर–बानेश्वर क्षेत्रमा पनि चहलपहल बढेको छ। चक्रपथ रूटमा महानगर यातायात लगायतले सेवा सुरू गरेका छन्। सार्वजनिक बससँगै ट्याक्सीलगायतका सवारी साधन नियमित रूपमा सञ्चालनमा आएका छन्।

हिजो नै स्व इच्छाले काठमाडौंबाट अन्य जिल्लामा बसहरू गएका थिए। संघीय सरकारसँग कुनै समन्वय भइ नसके पनि स्थानीय प्रशासनसँगको समन्वयमा लामो तथा छोटो दूरीका सवारी साधन चलाउन अनुमति दिइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।


उनका अनुसार जेनजी आन्दोलनले रोकिएको लामो तथा छोटो दुरीको सवारीसाधन आजदेखि चल्न थालेका छन्। आज बिहान गोंगबु बसपार्कबाट बाहिरी जिल्लाका लागि बसहरू छुटेका छन्।
जनजीवन सहज हुँदै गएपछि पसलहरू खुल्न थालेका छन्। प्रदर्शनका क्रममा क्षति पुगेका पसलहरूमा सरसफाइका बिहानैदेखि सुरू गरेका छन्। मंगलबार रातीदेखि सुरक्षाको व्यवस्था लिएर सडकमा उत्रेको सेना आजदेखि फिर्ता भएको छ। प्रहरीहरू पनि सम्बन्धित ‘बिट’मा फर्किन थालेका छन्।

