Aamsanchar

लुटपाटमा संलग्न शिक्षक पदमुक्त, भाटभटेनी घटना पछिको विद्यालयको कडा निर्णय

Author Image
शनिवार, भदौ २८, २०८२

बुटवल ।  भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड तथा लुटपाट प्रकरणले नयाँ मोड लिएको छ। घटनामा संलग्न भएको प्रमाण सार्वजनिक भएपछि एक निजी विद्यालयका शिक्षकमाथि कारबाही गरिएको छ।

कालिका मानव ज्ञान माविमा तीन वर्षदेखि कम्प्युटर विषय पढाइरहेका शिक्षक शिवसंकर शुक्लालाई विद्यालय प्रशासनले पदबाट निष्कासित गरेको हो। कपिलवस्तु निवासी शुक्ला निमावि तहमा निजी स्रोतबाट नियुक्त शिक्षक थिए।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार शुक्लालाई घटनामा संलग्न भएको प्रमाणसँगै सार्वजनिक भएका तस्बिर र भिडियोको आधारमा सोमबार (भदौ २६) बिहान स्पष्टीकरण सोधिएको थियो। तर, उनले सन्तोषजनक जवाफ वा खण्डन प्रस्तुत गर्न नसकेपछि सोही दिन विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार निष्कासन गरिएको थापा बताउँछन्।

भदौ २४ गते राति जेनजी समूहले गरेको आन्दोलन उग्र रूप लिँदै बुटवलको भाटभटेनी सुपरमार्केटमा तोडफोड र आगजनी गरेका थिए। सो घटनाले करिब पूरै संरचना ध्वस्त बनाएको छ। हाल सुपरमार्केटको मर्मत तथा पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

घटनासँग सम्बन्धित अनुसन्धान सुरक्षा निकायबाट जारी छ भने, यसबीच विद्यालयहरूको अनुशासन र शिक्षकहरूको सामाजिक भूमिकाप्रति समेत गम्भीर प्रश्न उठेको छ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर