Aamsanchar

धरानमा आगजनी गर्नेको पहिचान खुल्यो, हर्क साम्पाङले निर्देशन दिएको आरोप

Author Image
आइतवार, भदौ २९, २०८२

फाेटाे:अन्नपूर्णपाेष्ट

सुनसरी – धरानमा भदौ २४ गते जेन्जी आन्दोलनको आवरणमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाका मुख्य नाइकेहरूको पहिचान भएका छन्। पीडित र प्रत्यक्षदर्शीहरूका अनुसार, घटनामा धरान स्वतन्त्र समूहका सचिव मिलन वान्तवा र कांग्रेसबाट कारबाही भइसकेका पूर्व कार्यकर्ता दिपचन्द्र राई (कान्छी) मुख्य नाइके रहेका छन्। त्यस्तै धरानका अग्रज पत्रकार विमल शाक्य पनि तोडफोडमा संलग्न भएको पुष्टि भएको छ।

 

धरानका विभिन्न ठाउँमा निजी र सार्वजनिक सम्पत्तिमा आक्रमण, भाटभटेनी सुपरमार्केटमा आगजनी, लुटपाट र सरकारी कार्यालयहरूमा क्षति पुगेको थियो। घटनामा पूर्व मेयर मनोज मेयाङ्बोको होटल कञ्चनजंगा र निजी घर, पूर्व उप–प्रमुख मन्जु भण्डारी, नगरपालिकाकी कार्यपालिका सदस्य सिर्जना नेपाल, कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, पूर्व सांसद जयकुमार राई र धरान–१५ को वडा समितिको कार्यालयमा समेत तोडफोड गरिएको थियो।

 

पूर्व मेयर मेयाङ्बोले घटनापछि कठोर प्रतिक्रिया जनाउँदै भने, “मेरो घरमा पसेर ६ लाख रुपैयाँ नगद लुटेर लगियो। कञ्चनजंगा होटल सञ्चालन गरिरहेको घरमा तोडफोड र आगजनी भयो। मिलन वान्तवा धरानका मेयर हर्कराज राईको श्रम अभियानमा सक्रिय देखिने व्यक्ति हुन् र हर्ककै निर्देशनमा मेरो घरमा आगजनी भएको प्रमाण छ। साम्पाङले प्रयोग गर्ने माइक बोकेर आक्रमण भएकाले यो योजनाबद्ध भएको स्पष्ट देखिन्छ उनले भने।” यस बारे मेयर साम्पाङलाई बुझ्न फोन गर्दा उनले फोन उठाएनन्।

नगरपालिकाकी कार्यपालिका सदस्य सिर्जना नेपालले पनि दोषीमाथि कडा कारबाहीको माग गर्दै भनिन्, “मेरो पतिले कतारमा पसिना बगाएर कमाएको पैसाले बनाएको घर यसरी तोडफोड गर्नु अमानवीय काम हो। अपराधीलाई कानुनको कठघरामा उभ्याउनै पर्छ।”

प्रत्यक्षदर्शीहरूले मिलन र दिपचन्द्रलाई माइक बोकेर भीडलाई उक्साउँदै तोडफोड र लुटपाट गर्न निर्देशन दिएको देखेको बताएका छन्। यस घटनामा कांग्रेस, एमाले र माओवादी पार्टी कार्यालयहरूमा समेत आगजनी र तोडफोड भएको प्रहरीले पुष्टि गरेको छ। एमाले पार्टी कार्यालय तोडफोडमा पत्रकार विमल शाक्यको समेत संलग्नता देखिएको छ। आगजनी संलग्न मिलनले भने आगजनी गरेको स्विकार गरेका छ्न्।

धरानका व्यापारी र स्थानीयवासीले शान्ति र सुरक्षाको वातावरण पुनः स्थापित गर्न माग गरेका छन्। उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठले भाटभटेनीसहित व्यापारिक भवनमा भएको आगजनी र लुटपाटले व्यवसायी त्रसित भएका बताए । व्यवसाय सञ्चालन गर्न सकिने वातावरण तत्काल बनाउनुपर्छ, अन्यथा व्यापारी पलायन हुने उनको भनाई छ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्ने व्यक्तिहरूको पहिचानसहित किटानी जाहेरी दिए कानुनी कारबाही अघि बढाउने बताएका छ्न्।

अन्नपूर्णपाेष्टबाट

Views: 920

प्रतिक्रिया (०)

सम्बन्धित खबर