Aamsanchar

ताप्लेजुङमा रेडपाण्डा दिवस मनाइयो

Author Image
सोमवार, भदौ ३०, २०८२

फुङ्लिङ –  विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ।

रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो।

रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्याक्रम संयोजक रमेश राईले बताए।

मञ्चका अनुसार यही भदौ १८ गतेदेखि २९ गतेसम्म फुङ्लिङ, फक्ताङलुङ, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकासहितका विद्यालयमा कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र आर्ट प्रतियोगिता आयोजना गरिएको थियो । ताप्लेजुङका दश वटा विद्यालमा रेडपाण्डा इकोक्लब सञ्चलनमा छन् । क्लबको सक्रियतामा रेडपाण्डा संरक्षण र महत्वका विषयमा विभिन्न कार्याक्रमको आयोजना गरिएको हिमाली संरक्षणमञ्च संस्थाका सचिव विवश केदेमले बताए।

हिमाली संरक्षण मञ्चका अनुसार, विद्यार्थीलाई रेडपाण्डा संरक्षणप्रति सचेत बनाउने उद्देश्यले विभिन्न प्रतिस्पर्धामूलक कार्यक्रम आयोजना गरिएको हो। जिल्लामा लामो समयदेखि रेडपाण्डा संरक्षणका कार्यक्रम सञ्चालन भएसँगै रेडपाण्डाको सङ्ख्यासमेत वृद्धि आएको हिमाली संरक्षण मञ्चले जनाएको छ। जिल्लामा करिब ७७ देखि एक सय ३४ रेडपाण्डा छन्।

Views: 31

प्रतिक्रिया (०)