Aamsanchar

डिजिटल आन्दोलन : माइकि‍ङ, तुल र पर्चा बिना उठेको हुंकार

Author Image
सोमवार, भदौ ३०, २०८२

नेपालको आन्दोलनको इतिहास हेरौँ भने –सडकमा भीड जम्मा पार्न माइकि‍ङको आवाज, टेन्ट टाँगिएका तुल, चौराहामा टाँसिएका व्यानर, हरेक हातमा बाँडिएका पर्चा अनिवार्य जस्तै देखिन्थे । विरोध भन्नासाथ लाउडस्पिकरमा चर्को नारा, भित्तामा चिटारिएका पोस्टर र सडकका छेउछाउ रंगिएका पर्चा सम्झिन्थ्यौँ ।

तर, अहिले जेन–जी पुस्ताले देखाइदिएको आन्दोलनमा यी मध्ये एक पनि उपकरण प्रयोग भएन । कुनै माइकि‍ङ चलाइएन, तुल र व्यानरको खर्चै भएन, पर्चा छपाउने प्रेसलाई कामै परेन । तर पनि देशको सिंगो नक्सा थरथराइरहेको छ ।

यसको कारण एकै हो –डिजिटल युगको करामत ।

स्क्रिनमै मञ्च

आजको पुस्ताले सडकमा माइक खोज्दैन, बरु फोनकै स्क्रिनलाई मञ्च बनाउँछ । ३० सेकेन्डको टिकटक क्लिप, केही सेकेन्डको फेसबुक लाइभ वा ट्विटर (एक्स) मा ह्यासट्याग –यहीँबाट आन्दोलनको स्वर लाखौँसम्म पुग्छ ।

पर्चाभन्दा छिटो सन्देश

पहिला पर्चा छापेर बाँड्न दिनौं लाग्थ्यो । तर अहिले एउटा भिडियो अपलोड गर्नासाथ हजारौँले शेयर गर्छन्, लाखौँले हेर्छन् । आन्दोलनको मर्म घडीघडीमा अपडेट हुन्छ, फोटो र क्लिपमार्फत् तुरुन्तै जनतासम्म पुग्छ ।

व्यानरभन्दा आकर्षक दृश्यभाषा

काठको पोलमा टाँसिने व्यानरलाई अहिले ’मीम’ ले प्रतिस्थापन गरेको छ । एक मीम वा डिजाइन गरिएको पोस्टले हास्य, व्यङ्ग्य र आक्रोशलाई एउटै फ्रेममा बाँधेर विश्वभर पुर्याउँछ ।

हिउँदको आगोझैँ फैलिने आक्रोश

पारम्परिक आन्दोलनले केही समयमै थाक्थ्यो –माइक बन्द भयो, पर्चा सकियो, व्यानर फाट्यो भने भीड विघटन हुन्थ्यो । तर डिजिटल आन्दोलन स्क्रिनको ब्याट्रीले मात्रै चल्छ । चार्ज भएभरि स्वर बन्दैबढ्दै जान्छ, आक्रोश हिउँदमा आगोझैँ फैलिन्छ ।

निष्कर्ष

जेन–जीले देखाइदिएको कुरो स्पष्ट छ –आन्दोलनको स्वर अब कागज वा कपडामा होइन, डिजिटल स्क्रिनमै उत्कीर्ण हुन्छ । ब्यानर टाँस्ने ठाउँ नभए पनि ह्यासट्याग ट्रेन्ड हुन्छ, पर्चा बाँड्ने मान्छे नभए पनि पोस्ट हरेक हातमा पुग्छ ।

नेपालको आन्दोलनको यो नयाँ अध्यायले सिकाएको पाठ –“भविष्यमा माइकभन्दा शक्तिशाली मोबाइल हुन्छ, र तुलभन्दा आकर्षक डिजिटल स्क्रिन ।“

Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर